आर्थिक उपार्जनका लागि बंगुर वितरण

प्रकाशित मिति:

तोलाकान्त बगाले, वालिङ, ४ असार ।स्याङ्जाको वालिङ नगरपालिकाले न्यून आय भएका परिवारको आर्थिक उपार्जनका लागि बंगुरका पाठापाठी वितरण अभियान थालेको छ ।आर्थिक स्तर न्यून भएका नागरिकहरुलाई उनीहरुको मागका आधारमा समेत नगरपालिकाले बंगुरपालनको संभावना भएका नगरका तीन ठाउँलाई ‘बंगुर पकेट कार्यक्रम’ घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको हो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘बंगुर पकेट कार्यक्रम’ अन्तर्गत नगरपालिकाले आज वालिङ ८ को पारिबन बन उपभोक्ता समूहमा आबद्ध २४ जनालाई जनही २/२ वटाका दरले ४८ वटा बंगुरका पाठापाठी वितरण गरेको हो । यसअघि गत आईतबार वालिङ ७ ताप्केस्थित सिर्जना बंगुरपालन समूहलाई ३५ वटा पाठापाठी वितरण गरिसकेको छ भने अब वालिङ ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसेलाई वितरण गर्ने तयारीमा नगरपालिका रहेको छ ।

वडा नं. ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे, ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिबन बन उपभोक्ता समूहलाई ‘बंगुर पकेट क्षेत्र’ कारुपमा विकास गर्नका लागि बंगुरका पाठापाठी वितरण गरेको उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।घोषणा गरिएका पकेट क्षेत्रहरुमा बंगुरका पाठापाठी वितरण, कृषकहरुलाई आवश्यक तालीम तथा औषधोपचारका लागि सहयोग गर्ने र विशेष गरी ब्यवसायिकतामा जोड दिईने उपप्रमुख तिवारीले बताउनुभयो ।कृषकहरुलाई ब्यवसायिक बनाउन आवश्यक पर्ने सहयोगका लागि नगरपालिका प्रतिबद्ध छ रहेको उपप्रमुख तिवारीले बताउनुभयो ।सामूहिक वा ब्यक्तिगतरुपमा बंगुरपालन गर्न चाहने कृषकहरुका लागि आवश्यक अनुदान दिने, उत्पादित पाठापाठी तथा मासुको बजारीकरणको ब्यवस्था मिलाउने काम नगरपालिकाले गर्ने उपप्रमुख तिवारीको भनाई थियो ।सानो संख्यामा र परम्परागत तबरबाट गर्दै आउनुभएको निर्वाहमुखी ब्यवसायलाई अब आधुनिक र थप ब्यवसायिकतातर्फ उन्मुख गराउन यो अभियान सञ्चालन गरिएको वालिङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले बताउनुभयो ।चालु आर्थिक वर्षका लागि दश लाख बजेट विनियोजन भएको र आगामी आर्थिक वर्षका लागि पनि निरन्तर बजेटको ब्यवस्थापन हुने गरी कार्यक्रम अगाडि बढाईएको वालिङ नगरपालिका पशु विकास शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।

नगरपालिकाले घोषणा गरेको तीन वटा बंगुर पकेट क्षेत्रमध्ये शनिबार सिर्जना बंगुरपालन समूह वालिङ ७ ताप्केमा ३५ वटा बंगुरका पाठापाठी वितरण गरिएको थियो ।यसवर्ष नगरपालिकाले तीनवटा पकेट क्षेत्रमा एकसय ४५ वटा बंगुरका पाठापाठी वितरण गर्ने, कृषकहरुलाई आवश्यक ज्ञान सीपसहित तालीमहरु दिने, औषधि उपचारको ब्यवस्था मिलाउने छ । वालिङलाई माछा मासु तथा अण्डामा आत्मनिर्भर बनाउनका लागि यसखालका कार्यक्रमहरुले निक्कै महत्वपूर्ण भूमिका राख्ने भएकाले यो अभियानमा नगरपालिकासहित लक्षित कृषकहरु झन सक्रिय हुनु आवश्यक रहेको डा. अधिकारीले बताउनुभयो । बंगुरका पाठापाठी वितरण कार्यक्रम पारिबन उपभोक्ता समूहका अध्यक्ष युक्तबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पशु विकास शाखाका प्राविधिक लेखनाथ अर्यालले गर्नुभएको थियो ।

 

 

 

((