प्रतिमान–नीमा प्रतिष्ठानद्वारा रोहिणी कोभिड–१९ अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

प्रकाशित मिति:

भैरहवा, ४ असार । प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवाले रुपन्देहीको रोहिणी गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ विशेष अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । अमेरिकास्थित संगसंगैको सहयोगमा प्रतिष्ठानले रोहिणी–३ स्थित कोभिड अस्पताललाई शुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

अस्पताललाई केही भए पनि सहयोग पुगोस् र कोरोना संक्रमित बिरामीको उपचारमा सहजता होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको प्रतिष्ठानको कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । उनले स्वास्थ्य शिक्षा प्रदान गर्दै आएको संस्थाले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई अगाडी बढाउने अभियान अन्तर्गत उक्त सामग्री प्रदान गरिएको बताइन् । त्यस्तै प्रतिष्ठानले उक्त अस्पतालमा भर्ना भएको बिरामी र यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई जेठ १७ गतेदेखि सुुरु गरी तीन महिनासम्म निःशुल्क खानाको व्यवस्थापन गरेको थापाले जानकारी दिइन् । त्यस्तै जेठ १७ देखि लागू हुने गरी गाउँपालिकाका नागरिकको कोरोना संक्रमणबाट मृत्य भएको अवस्थामा मृतकको दाहसंस्कारका लागि प्रतिष्ठानले १० हजार रुपैयाँ उपलब्ध गराउने उनले बताइन् ।कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर १ कन्सनटेटर १ थान, अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन रेगुलेटर ५ थान, पीपीई ५० थान, सर्जिकल ग्लोब्स, सर्जिकल क्याप, फेस शिल्ड ५०–५० थान, सर्जिकल मास्क १ हजार थान र सेनिटाइज। ५० लिटर प्रदान गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुुर के.सी.ले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रोहिणी गाउँपालिकालाई समयसमयमा प्रतिमान नीमा स्मृति प्रतिष्ठानले सहयोग गर्दै आएको बताए । उनले पूर्व स्वास्थ्य मन्त्री दिपक बोहरा उपाध्यक्ष रहनुभएको प्रतिष्ठानले गाउँपालिकाप्रति सकारात्मक सोच राख्दै सहयोग कार्यलाई अगाडी बढाएको भन्दै धन्यवाद ज्ञापन गरे । अध्यक्ष यादवले कोभिड १९ अस्पतालमा स्वास्थ्यकर्मीहरुले साहसका साथ काम गरी धेरै विरामीलाई निको बनाएर घर फर्काउन सफल भएको बताए । उनले प्रतिष्ठानसंग आगामी दिनमा पनि गाउँपालिकाले समन्वय र सहकार्य गर्र्दै जाने बताए । गाउँपालिका र प्रतिष्ठानले संगसंगै विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं, कतिपय सञ्चालन हुने प्रक्रियामा छन्, सहयोग गर्ने भावनाका साथ अगाडी बढ्ने प्रतिमान नीमा स्मृति प्रतिष्ठानले धन्यवाद दिन चाहन्छु, उनले भने । विदेशमा रहेका रोहिणी गाउँपालिका र देवदह नगरपालिकाका युवाहरुले पनि गाउँपालिकालाई १ लाख ४३ हजार सहयोग गरेको र यो सहयोगलाई गाउँपालिका परिवारले सम्मान गरेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अलिले यस क्षेत्रमा सहयोग गर्न पूर्व स्वास्थ्यमन्त्री दिपक बोहरा सदैव सकारात्मक रहदै आउनुभएको बताए । उनले असप्ताललाई खानाको व्यवस्था गर्ने र विभिन्न समयमा गाउँपालिकालाई सहयोग गर्ने प्रतिमान नीमा स्मृति प्रतिष्ठान धन्यवादको पात्र भएको बताए । संकटको बेला सहयोग गर्ने संस्थालाई बिर्सन नसकिने उनको भनाइ थियो ।रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष तथा धकधई प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर क्षेत्रीले रोहिणी गाउँपालिका र प्रतिमान नीमा स्मृति प्रतिष्ठानबीच नङ र मासुको सम्बन्ध स्थापित भएको बताए । उनले केही विपद्को पर्दा पनि प्रतिष्ठानले सहयोग गर्दै आएको बताए ।नेपाल रेडक्रस सोसाइटीका महामन्त्री आर मोहम्मद खानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।