बुटवलमा रहेको ग्रामीण तथा सहरी विकास मन्त्रालय दाङ पुग्यो

प्रकाशित मिति:

बुटवल-  लुम्बिनीको प्रदेशको अस्थायी मुकाम बुटवलमा रहेको ग्रामीण तथा सहरी विकास मन्त्रालय दाङमा पुगेको छ । प्रदेश राजधानी बनेको ९ महिनापछि मन्त्रालय स्थायी राजधानीमा पुगेको हो ।राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयमा गत जेठ महिनामा उक्त नवनियुक्त मन्त्री हरिप्रसाद रिजालले मन्त्रालयको स्थापना गरी त्यहीँ पदभार ग्रहण गरेका थिए । कोरोनाभाइरसको महामारी र अहिलेको लगातारको झरीले गर्दा मन्त्रालयबाट अझै काम सुरु गर्न नसकिएको श्रोत बताउँछ ।

कर्मचारी व्यवस्थापन, अनुगमन लगायतका कामहरु अहिले भइरहेका छन ।लुम्बिनी प्रदेश राजधानी व्यवस्थापन कार्यालयका प्रमुख रामप्रसाद ज्ञवालीले साउन पहिलो साता र ढिलोमा दोश्रो सातासम्म दाङबाट नै ग्रामीण तथा सहरी विकास मन्त्रालयको काम शुरु हुने बताए । गत असोज २० गते लुम्बिनीको स्थायी राजधानीको टुंगो लागे पनि विभिन्न कारणले मन्त्रालय ढिलाई भएको बताइएको छ । राजधानी व्यवस्थापन कार्यालयले पनि प्रदेशका अधिकांश सबै मन्त्रालयहरू शिक्षालयभित्रै सहजै सञ्चालन गर्न सकिने निष्कर्षसहित सिफारिससमेत गरेको छ।लकडाउनका कारण निर्माण कम्पनीको काममा ढिलो भए पनि प्रिफ्याब विधिबाट विद्यालयको भौतिक संरचना निर्माण गर्न लागेको हुँदा बढीमा तीन महिनामा सबै निर्माण कार्य पूरा उनले बताए । जहाँ हाल २८ कोठे विद्यालय संरचना
निर्माणको काम चलिरहेको छ ।

लुम्बिनी प्रदेशले आफ्नै स्थायी संरचना गुरुयोजना अनुरूप बनाउनका लागि अध्ययन जारी राखेको छ। नेपालकै नमूना सहरको रूपमा लुम्बिनी प्रदेशको राजधानी विकास गर्नका लागि गुरुयोजना तयार पारी काम गरिने मुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आएका छन् ।