पूर्वमन्त्री माछापालनमा

प्रकाशित मिति:

तनहुँ, १५ मङ्सिर । डा‍. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्री बन्नुभएका भीमप्रसाद गौतमले आफ्नै ठाउँमा माछापालन गरिरहनुभएको छ । बन्दीपुर गाउँपालिका–१ पिप्लेका गौतमले डेढ वर्षअघिदेखि आफ्नै जग्गामा माछापालन सुरु गर्नुभएको हो ।

नयाँ शक्ति नेपालका नेता रहनुभएका गौतमले राजनीतिसँगै कृषि पेशालाई अगाडि लैजान माछापालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेता भएर भाषण गर्ने प्रवृत्ति हाम्रो समाजमा धेरै छ । कृषिउद्यम गर्नेको सङ्ख्या भने निकै कम छ ।’

गौतमले राजनीतिपछिको जीवनमा केही काम गर्छु भन्ने लक्ष्य आफूमा पहिलेदेखि नै रहेकाले माछापालन व्यवसाय शुरु गरेको बताउनुभयो ।

उहाँको आफ्नै ११ रोपनी जग्गामा माछापोखरी निर्माण गरिएको छ । उक्त जग्गामा पहिला धानखेती हुँदा वार्षिक एक लाख रुपैयाँ जति आम्दानी हुने गर्दथ्यो । तर, माछापालनबाट भने प्रतिरोपनी वार्षिक एक लाखभन्दा बढी आम्दानी हुने गरेको गौतमले बताउनुभयो ।

गौतम कृषि फार्मको सम्पूर्ण रेखदेख गौतमका ठूला छोरा कुलेन्द्र गौतमले गरिरहनुभएको छ । पोखरी निर्माणका लागि जिल्ला कृषि विकास कार्यालय तनहुँले एक लाख ६५ हजार रुपैयाँ अनुदान दिएको थियो ।

माछापालनका लागि तनहुँको हावापानी उत्कृष्ट रहेकाले यसतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । सजिलो खेती र माछाको बजारका कारण पनि कृषकको माछापालनमा आकर्षण बढेको छ ।

तनहुँमा कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रहु, नैनी, माहुर जातका माछा पालिने गरिएको छ ।