पत्रकार ठग्ने संचारगृह विरुद्ध महासंघले कानुनी उपचार खोज्ने

प्रकाशित मिति:

काठमाडौं – नेपाल पत्रकार महसंघले दोस्रो लहरको कोरोना संक्रमण दर वृद्धि भएसँगै श्रमजीवी पत्रकारका श्रम समस्या बढ्न थालेको निष्कर्ष निकालेको छ । महासंघले आइतबार विज्ञप्ति प्रकाशित गर्दै कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘कोरोना संक्रमणका कारण उत्पन्न यो कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने महासंघको ठहर छ । यो विषम अवस्थामा महासंघ श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । महासंघले संक्रमणको जोखिम मोलेर अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गरी श्रमजीवी पत्रकार ऐन र अन्य ऐनले तोकेअनुसारको सेवा–सुविधा प्रदान गर्न गराउन महासंघ सम्बन्धित पक्षसँग आग्रह गरेको छ । ‘अन्यथा महासंघ यसका लागि कानुनी लगायतका सबै संघर्षमा जान बाध्य हुने प्रष्ट पार्न चाहन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

श्रमजीवी पत्रकार ऐन र श्रमसम्बन्धी कानुन कार्यावन्यन गर्ने दायित्व सरकारको भएकोले ऐन कार्यान्वयनमा गम्भीर बन्न र ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारी सेवा–सुविधाबाट बञ्चित गर्न तथा श्रम समस्याका विषयमा तत्काल अनुगमन गर्न महासंघ सरकारको पनि महासंघले ध्यानाकर्षण गराएको छ । महासंघ केन्द्रीय समितिले २०७८ असार ७ गते सोमबारदेखि विभिन्न सञ्चार गृहहरुमा अनुगमन गर्ने भएको छ । सो अनुगमनपश्चात अनुगमन समितिबाट प्राप्त प्रतिवेदनका आधारमा सञ्चार गृहका सम्बन्धमा आवश्यक निर्णय लिएर महासंघ दबाबमूलक कार्यक्रम र कानुनी संघर्षमा जाने जानकारी गराइएको छ ।