पाल्पा–बुटवल सडक खण्ड दुई दिन बन्द हुने

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल , १५ मङ्सिर । पाल्पा–बुटवल सडक स्तरोन्नतिका लागि मङ्सिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ । बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा दैनिक सडक बन्द हुने भएको हो ।

बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताउनुभयो ।

बिरामी बोकेका एम्बुलेन्सबाहेक अन्य सवारीसाधन रोकिनेछन् । सडकमा खसेको ढुङ्गा फुटाइ हटाउनुपर्ने, पहिरो हटाउनुपर्ने तथा सडक मर्मत सम्भार गनुपर्ने हुँदा सडक बन्द गर्न बाध्य भएको अधिकारी आचार्यले बताउनुभयो ।

दोभानको चिडियाखोलादेखि भुतखोला क्षेत्रको सडक बाह्रै महिना जोखिममा चालक सवारी चलाउन बाध्य छन् । स्थानीय बासिन्दाका अनुसार दोभानको सिद्धबाबा क्षेत्रमा हिउद तथा वर्षायाममा पहिरो खस्दै आएको छ ।

ढुङ्गासहितको पहिरोले सवारी दुर्घटना रोकिएको छैन । यस क्षेत्रमा पहिरोले मानवीय क्षति हुँदै आएको छ ।