आफ्नैले अत्याउँदैछन् देउवालाई ! विमलेन्द्र छुटे जे पनि हुन सक्छ

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वका लागि दोस्रो कार्यकाल आफैँ चुनाव लड्ने भन्दै केन्द्रीय सदस्यहरुसँग परामर्श गरिरहेका छन् ।शनिबार प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ का केन्द्रीय सदस्यसँग छलफल गरेका सभापति देउवाले आइतबार वाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग संयुक्त छलफल गरेका हुन् ।आफूले सभापति लड्ने निर्णय गरिसकेर सहयोग माग्न राखेको छलफलमा सभापति देउवाले पार्टीलाई पुरानो अवस्थामा नपुर्‍याइ विश्राम नलिने बताउने गरेका छन् ।

 

पार्टीलाई पुरानै अवस्थामा फर्काउनेबाहेक देउवाले पार्टी सभापतिमा पुनः लड्ने विषयमा अरु कुनै मुद्दा राखेका छैनन् ।त्यसो हुँदा देउवालाई उपसभापति विमलेन्द्र निधिले आफू चुनाव लड्ने भन्दै चुनौती गरिसकेका छन् । अन्य नेताले भने निधिलाई नै देखाएर देउवालाई चुनौती रहेको बताइरहेका छन् ।शनिबार र आइतबार चारवटा प्रदेशका केन्द्रीय सदस्यहरुसँग देउवाले छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।सबैजसोको देउवालाई एउटै सुझाव आइरहेको छ –विमलेन्द्र निधि छुटे भने चुनाव दोस्रो राउण्डमा जान्छ । त्यसबेला देउवा पराजित हुने जोखिम बढी हुन्छ ।“सभापतिज्यूले पुनः उमेदवारी दिने निर्णयपछि राखेको छलफलमा टिम मिलाउन नसके निर्वाचन दुई चरणमा जान्छ, पहिलो राउण्डमा देउवा सबैभन्दा बढी मत ल्याएपछि ५० प्रतिशत माथि मत नपुग्ने र दोस्रो राउण्डबाट बाहिरिने जोखिम हुन सक्ने सुझाव आएको छ,” देउवाले राखेको भेटमा सुझाव दिन पुगेका एक केन्द्रीय सदस्यले भने, “त्यस्तो अवस्था आउन नदिन निधिसहित आफ्नो टिम कायम राखेर अर्को टिमबाट तान्न सक्नुपर्छ भन्ने सुझाव दिएका छौँ ।”

ती केन्द्रीय सदस्यले सभापति देउवा भने निधि फर्किन्छन् भन्ने विश्वासमा नदेखिएको बताए ।“मैले हिजो निधिलाई म १४ औँ महाधिवेशनका लागि अन्तिमपटक कांग्रेसको सभापति बन्छु र पार्टीलाई पुरानो अवस्थामा फर्काएर हस्तान्तरण गर्छु भनेको थिएँ, तर निधि सहयोग गर्न तयार छैनन्, मलाई सहयोग गर्नुस् भन्दै बाहिरिए,” देउवाले केन्द्रीय सदस्यसँग गरेको ब्रिफिङ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, “उनी कतैको विश्वासमा चुनाव लड्ने निर्णयमा पुगिसकेका हुन सक्छन् । मैले लड्ने नै हो भने अधिकार छ भनेको छु ।”देउवाको ब्रिफिङपछि राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको पनि चलखेल हुन सक्ने भन्दै सचेत भएर निधिलाई मिलाउन केन्द्रीय सदस्यहरुले सुझाव दिएको ती केन्द्रीय सदस्यले बताए ।कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह तामाङले निधिका विषयमा पर्याप्त कुरा उठेको जानकारी दिए ।“उहाँलाई पनि ल्याउनुपर्छ, टिमका सबैलाई मिलाएर लैजानुपर्छ भनेर कुरा उठेको छ,” तामाङले भने,“त्यसका लागि टिमका सबैले भूमिका निर्वाह गर्ने र सभापतिज्यूले पनि पहल गर्ने समझदारी भएको छ ।”

भेटमा सहभागी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले सभापतिले पार्टीलाई पुरानो अवस्थामा पुर्‍याएर मात्र छोड्ने भन्दै विगतमा सभापति हुँदा रहेको टिममा छलफल गरेको बताइन् ।“पार्टीको १४ औँ महाधिवेशनमा म आफैँले सभापतिमा उमेदवारी दिने तयारी गरेँ भनेर १३ औँ महाधिवेशनको टिमसँग छलफल गर्नुभएको हो,” उपाध्यायले भनिन्, “१४ औँ महाधिवेशन अन्तिम हो, त्यसका लागि म पुनः सभापति बनेर पार्टीलाई पुरानो अवस्थामा फर्काएर छोड्छु भन्नुभएको छ ।”उनले आफूहरुले देउवाको नेतृत्व उपयुक्त हुने भन्दै टिम मिलाएर अघि बढ्न सुझाव दिएको बताइन् ।

“पार्टी ०५१, ०६४ र ७४ गरी पटक पटक अप्ठेरो परिस्थितिमा पुगेको छ । यो अवस्थाबाट पार्टीलाई पुरानै अवस्थामा फर्काउन बलियो नेतृत्व आवश्यक छ,” उपाध्यायले भनिन्, “अहिले मुलुक फेरि कोलिसन कल्चरमा जाँदै छ । हिजोको अनुभव र आजको अन्य दलले देखाइरहेको सद्भावका कारण उहाँ फेरि नेतृत्वमा आउन उपयुक्त हुन्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ ।”भेटमा सहभागी केन्द्रीय सदस्य शंकर भण्डारीले भने सभापति देउवाबाट आफू नछुट्ने भन्दै आश्वस्त गराउने प्रयास गरेका थिए । “निधि दाइले फोन गर्नुभएको थियो र म १४ औँ महाधिवेनमा सभापति लड्छु सहयोग गर्नुपर्‍यो भन्नुभएको थियो,” भेटमा सहभागी एक केन्द्रीय सदस्यले भने, “मैले तपाईसँग मेरो एजेन्डा मिल्दैन, म हिन्दुको एजेन्डा बोक्ने तपाईं धर्म निरपेक्षताको एजेन्डा बोक्ने भएकाले कुरा मिल्दैन र आउँदिन भनिदिएँ ।”