डोनाल्ड ट्रम्पका कारण क्रिस्टियानो रोनाल्डोलाई १ करोड डलर नोक्सान हुँदै

प्रकाशित मिति:

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पति खरिद गर्दा पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रानाल्डोलाई १ करोड डलर नोक्सान हुने भएको छ । डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको ‘ट्रम्प टावर’ मा खरिद गरेको अपार्टमेन्टका कारण रोनाल्डो नोक्सानमा जाने भएका हुन् । रोनाल्डोले ट्रम्प टावरमा रहेको आफ्नो अपार्टमेन्ट १ करोड नोक्सानसहित ७७ लाख ५० हजार डलरमा बिक्रीका लागि राखेका छन् ।

यद्दपि, आफूले खरिद गरेको भाउ भन्दा आधा बढी नोक्सानमा अपार्टमेन्ट बिक्री गर्न खोचे पनि रोनाल्डोले ग्राहक भने पाएका छैनन् । उनले सन् २०१५ मा ट्रम्प टावरमा २५ सय वर्गफुटको अपार्टमेन्ट १ करोड ८५ लाख डलरमा गरिद गरेका थिए । उक्त अपार्टमेन्ट मे महिनामा ७७ लाख ५० हजार डलरमै बिक्रीका लागि राखे पनि ग्राहक पाउन नसकेको भ्यानिटी फेयर म्यागजिनले रिपोर्ट गरेको छ ।

रोनाल्डोले सन् २०१९ मा पनि उक्त अपार्टमेन्ट ९० लाख डलरमा बिक्री गर्न खोजेका थिए । तर त्यसबेला कतैबाट अफर नआएपछि अहिले पुनः भाउ घटाएर बिक्रीका लागि राखेका हुन् । ट्रम्पको ब्राण्ड भ्याल्यूमै गिरावट आएका कारण रोनाल्डोलाई अपार्टमेन्ट बिक्री गर्न मुस्किल परेको हो । पछिल्लो समय ट्रम्प ब्राण्डका प्रपर्टीहरुको भाउमा उच्च गिरावट देखिएको छ । ट्रम्पले राष्ट्रपतिको कार्यकाल सम्हालेयता ट्रम्प ब्राण्डका प्रपर्टीको भाउ २०५ ले घटिसकेको छ ।