कोपा अमेरिका : अर्जेन्टिनालाई पाराग्वेको चुनौती

प्रकाशित मिति:

कोपा अमेरिकाअन्तर्गत मंगलबार हुने खेलमा अर्जेन्टिनाले पाराग्वेको सामना गर्दै छ । खेल नेपाली समयअनुसार बिहान पौन ६ बजे माने गारिन्चा फुटबल मैदानमा हुनेछ ।लियोनल मेसीको कप्तानीमा मैदान उत्रिने अर्जेन्टिना पाराग्वेलाई हराउँदै एक खेलअगावै क्वार्टरफाइनल प्रवेश गर्ने दाउमा हुनेछ । तर, उसलाई पाराग्वेविरुद्ध जित निकाल्न त्यति सहज भने हुने छैन ।अर्जेन्टिनाले सन् २०१५ देखि पाराग्वेमाथि जित निकाल्न सकेको छैन । त्यसयता भएका ४ खेलमा ३ खेल बराबरीमा सकिँदा एक खेल पाराग्वेले आफ्नो पक्षमा परेको छ ।

गुस्ताभो गोमेजको कप्तानीमा मैदान उत्रिने पाराग्वे पनि अर्जेन्टिनालाई हराउँदै क्वार्टरफाइनल सम्भावना बलियो बनाउने प्रयासमा हुनेछ ।अर्जेन्टिना २ खेलबाट ४ अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा रहँदा १ खेलबाट ३ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा छ ।अर्जेन्टिनाले पहिलो खेलमा चिलीसँग १–१ को बराबरी खेल्दा दोस्रो खेलमा उरुग्वेलाई १–० ले हराएको थियो । पाराग्वेले पहिलो खेलमा बोलिभियामाथि ३–१को जित दर्ता गरेको थियो ।हालमसम्म यी दुई टोलीले १०८ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा अर्जेन्टिनाले ५८, पाराग्वेले १६ खेल आफ्नो पक्षमा पार्दा ३४ खेल बराबरीमा सकिएको छ ।

अर्जेन्टिना र पाराग्वेले पहिलोपटक सन् १९१९मा एक अर्काको सामना गरेका थिए । यो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ५–१ को सहज जित निकाल्यो ।विश्वकप छनोटअन्तर्गत सन् २०२० मा भएको भेटमा दुवै टोलीले १–१ गोल गरे । इतिहासमा अर्जेन्टिना बलियो देखिए पनि पछिल्ला भेटमा पाराग्वेले उसलाई दुःख दिइरहेको छ ।सोमबार बिहान पौने २ बजे हुने खेलमा भने चिलीले उरुग्वेको सामना गर्नेछ ।