धुर्कोटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

प्रकाशित मिति:

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । आ.व.२०७८/७९ को लागि आठौँ गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । गाउँपालिकाले उत्पादनमा आधारित अनुदान, मासुमा आत्मनिर्भर गाउँपालिका, दुध उत्पादन, सितभण्डार संचालन लगायतका बिषयमा गाउँपालिकाले सफलता हाँसिल गरेको दाबी गरेको छ । धुर्कोट कोटको पुननिर्माण तिब्र रुपमा भएको, कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागु भएको, पछिल्लो चार बर्षमा पालिकामा ९६ वटा विद्यालयका भवन बनेको, सातमध्ये छ वटा स्वास्थ्य संस्थामा सुरक्षित प्रसुती गृह संचालन लगायतका उल्लेख्य काम गरेको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

आगामी आर्थिक बर्षमा गाउँपालिकाले कोरोना कारण रोजगार गुमाएर गाउँ फर्किएकाहरुलाई कृषिमा प्रेरित गर्नका लागि विभिन्न अनुदान, तालिम, प्रविधि एवम् कृषि ऋणको ब्याजमा अनुदान दिने जनाएको छ । २५ रोपनी क्षेत्रफलभन्दा बढी जग्गामा हरियो तरकारी उत्पादन गर्ने किसानलाई तीन बर्षसम्म अनुदानको ब्यवस्था, व्यवसायिक च्याउ खेती, वडा नम्बर १ नयाँगाउँमा सुन्तला नर्सरीको स्थापना तथा प्रत्येक हप्ताको एक बार एउटा वडामा घुम्ती हाटबजार संचालन गर्ने नीति गाउँपालिकाबाट पारित भएको छ ।

केन्द्रमा औद्योगिक ग्राम

धुर्कोट गाउँपालिकाले गाउँपालिकाको केन्द्र बर्बोटमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । परम्परागत रुपमा रहेका आरन, सिलाई–कटाई तथा जुत्तासिलाई व्यवसायलाई प्रवद्धन गर्ने, डोका, नाम्ला, डाला लगायतका स्थानीय कच्चा पदार्थ प्रयोग गरी उत्पादित सामग्रीलाई गाउँपालिकाले बजारीकरण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाका अध्यक्ष पोखरेलले जानकारी दिए ।

धुर्कोट कोटमा निर्माणाधिन संग्राहालय यसै बर्ष सम्पन्न गर्ने, गाउँपालिकाभित्रका महत्वपूर्ण पर्यटकीय ठाउँहरुलाई कृषि पर्यटन तथा प्रत्येक वडाबाट एकवटा पर्यटकीय क्षेत्र छनोट गरी प्रचार–प्रसार गरिने गाउँपालिकाले जनाएको छ । अभिभावकबिहिन बालबबालिकाहरुलाई माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गाउँपालिकाले गर्ने, पाञ्चायन माविमा निर्माणाधिन छात्रावासलाई संचालनमा ल्याउने, कृषिमा अध्ययनरत विद्यार्थीहरुको घर कृषि टनेल निर्माण गर्ने कार्यक्रम पनि गाउँपालिकाका प्राथमिकतामा परेका छन् । यस बर्षसम्म पालिकाका ८० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने, जैसिथोकमा ल्यान्डफिल्ड साइड संचालन गर्ने, अपाङ्गहरुले संचालन गर्ने व्यवसायका लागि मेसिन खरिदमा ८० प्रतिशत अनुदान दिने कार्यक्रम धुर्कोटले राखेको छ । त्यस्तै धुर्कोट गाउँपालिकालाई आधारित बनाई पत्रकारिता गर्ने पत्रकारलाई विशेष सहयोग गर्ने कार्यक्रम पनि समेटिएको अध्यक्ष पोखरेलले बताए ।