कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

प्रकाशित मिति:

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश राणासहित न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा सो रिटको सुनुवाइ हुन लागेको हो ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा सर्वोच्चले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

यसअघि जेठ २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलमा बोलाएको थियो। सर्वोच्चले लिखित जवाफ माग गरेपछि फेरि मन्त्रीपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत दर्ता भएको छ। यसअघि न्यायाधीश  ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न भनेको थियो। अब दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउनेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवालसहित ६ जनाले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए।

रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ। यदि मन्त्रिपरिषद् विस्तारमा सर्वोच्चले अंकुश लगाए मन्त्रिपरिषद्मा ओली एक्ला सदस्य हुनेछन् । -जनतापाटीबाट