भारतमा एकैदिनमा ८० लाखलाई कोरोना खोप, विश्वमै सवैभन्दा धेरै भएको दाबी

प्रकाशित मिति:

एजेन्सी । भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दावी गरेका छन् ।

खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो ।

“एकैदिनमा सवैभन्दा धेरै खोप लगाएको किर्तिमान अहिले भारतले बनाएको छ, कोरोनाभाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,” प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले अगाडि लेखेका छन्, “खोप अभियानमा सक्रिय योगदान गर्नुुभएका सवैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु भने खोप लगाउनु भएका सवैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।”

देशका प्रदेश तथा राज्यहरुमा एकैचोटी अहिले कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । त्यसैलेपनि एकैदिन यति धेरै मानिसले खोप लगाउन पाएका हुन् ।

हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति भारतले लिएको छ । १८ बर्षमा सवैलाई खोप लगाउने अभियान आजबाट सुरु भएको हो । यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो ।