मेलम्ची बाढीपीडितलाई नेपाली नारी समाज पोर्चुगलको सहयोग, मेडिकल टिम सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

असार ८- नेपाली नारी समाज पोर्तुगलले मेलम्चीमा आएको विनाशकारी बाढी पीडित महिलाहरूलाई सहयोग गरेको छ । मंगलबार समाजले हेलम्बु गाउँपालिकाबाट हेलिकप्टरमा उद्दार गरि काठमाडौं ल्याइएका ३ गर्भवती महिलालाई नगद १०र१० हजार सहयोग गरेको हो । मेलम्ची खोलाको बाढीले सडक भत्काएपछि अस्पताल जान समस्या पर्ने भएपछि आइतबार उनीहरुको उद्धार गरि काठमाडौ ल्याइएको थियो । साथै समाजले मेलम्चीमा रहेका महिलाहरुलाई लक्ष्यित गर्दै १ दिने स्वास्थ शिविर समेत सम्पन्न गरेको छ । जसमा १ सय जना महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको मेडिकल टिम संयोजल जगन्नाथ दुलालले जानकारी दिए । सोही अवसरमा महिलाहरुको लागि आवश्यक पर्ने सेनेटरी प्याड, दैनिक प्रयोगमा आउने म्याक्सी लागायतका सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।

उद्दार कार्यमा संयोजन गरेका पत्रकार विष्णु खड्कामार्फत सो सहयोग गर्भवतीहरूलाई हस्तान्तरण गरिएको हो । साउनको पहिलो साता सुत्केरी हुने क्रममा रहकी अर्चना ढुङ्गेललाई सहयोग रकम हस्तान्तरण गरिसकिएको छ । ढुँगेलले प्रतिकूल बेलामा सहयोग गरेकोमा नेपाली नारी समाज पोर्चुगलप्रती आभार व्यक्त गरेकी छन् । उद्दार गरि ल्याइएका अरू दुई गर्भवती सरिता तामाङ र कान्छीमाया शेर्पालाई बुधबार रकम हस्तान्तरण गर्ने संयोजक खड्काले जानकारी दिए ।

त्यस्तै, नेपाली नारी समाज पोर्चुगलले लामो समयदेखि सामाजिक कार्यमा सहयोग गर्दै आएको छ भने केही समय अगाडि मात्रै कोभिड १९ बाट समस्यामा परेकाहरुको सहयोगार्थ अक्सिजन सिलिन्डर हातेमालो योजना मार्फत नेपालमा करिव ४ लाख ५० हजार सहयोग गरेको थियो । केही महिना अगाडी मात्रै निर्वाचित नयाँ कार्यसमितिले योसगै दोस्रोपटक घरदेशमा भएको पीडामा मलम लगाएको छ । नेपाल पैसा पठाउनको लागि पोर्तुगलमा रहेको इजि ट्राभलले निशुल्क सेवा प्रदान गरेको थियो ।