युरोकप फुटबल : बेल्जियम अपराजित

प्रकाशित मिति:

सेन्ट पिटर्सबर्ग- युरोकप फुटबलअन्तर्गत समूह ‘बी’को अन्तिम चरणको खेलमा जित हासिल गर्दै बेल्जियम समूह विजेता र डेनमार्क उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेका छन् । बेल्जियमले फिनल्यान्डलाई २–० गोलले पराजित गर्दा डेनमार्कले भने जित्नैपर्ने खेलमा रसियालाई ४–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो। बेल्जियमले तीन खेलमा नौ अंकका साथ शतप्रतिशत नतिजा निकाल्यो। डेनमार्क, रसिया र फिनल्यान्डको समान तीनरतीन अंक रहे पनि तीन टोलीबीच नतिजामा डेनमार्क गोल अन्तरमा अगाडि रहँदै नकआउट चरणमा प्रवेश गर्‍यो। फिनल्यान्ड तेस्रो स्थानमा छ र अघिल्लो चरणमा प्रवेशका लागि अन्य समूहको नतिजा पनि कुर्ने भएको छ। रसिया भने पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

सेन्ट पिटर्सबर्गमा बेल्जियमले दोस्रो हाफमा गरेको दुई गोलको मद्दतले फिनल्यान्डलाई २–० ले पराजित गर्न सफल भयो। बेल्जियमले खेल अवधिभर फिनल्यान्डलाई दबाबमा राखे पनि गोलका लागि ७४औं मिनेटसम्म कुर्नु परेको थियो। बेल्जियमको अधिकांश आक्रमणमा बाधक बनेका गोलरक्षक लुकास हदेच्की नै बेल्जियमको अग्रतामा निर्णायक बन्न पुगे । कर्नरमा आएको बललाई थोमस भर्मालेनले हेड गरेको बल गोलरक्षक हदेच्कीलाई लाग्दै गोल भएको थियो। ८१औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको जित पक्का गरे। उनले केभिन डी ब्रुनको पासलाई सदुपयोग गरेका थिए । यस्तै, कोपेनहेगनको पार्केन रंगशालामा घरेलु टोली डेनमार्कले रसियालाई हराउँदा उत्कृष्ट प्रदर्शन गरेको थियो। आफ्ना प्रभावशाली खेलाडी क्रिस्टियन एरिक्सन पहिलो खेलमै मैदानमा ढलेपछि विक्षिप्त बनेको डेनमार्कले लगातार दुई खेल हारेको थियो ।

पहिलो हाफको ३८औं मिनेटमा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए। उनले पिएर एमिल होजवर्गको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार दर्शनीय गोलमा परिणत भएको थियो। दोस्रो हाफको ५९औं मिनेटमा युसुफ पौलसेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे। ७०औं मिनेटमा रसियाले पेनाल्टीमा गोल गर्दै खेलमा फर्किएको थियो। यानिक भेस्टगार्डले पेनाल्टी क्षेत्रभित्र सोबोलेभलाई लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान आर्टम ज्युबाले गोल गरेका थिए ।खेलको ७९औं मिनेटमा डिफेन्डर आन्द्रेस क्रिस्टेन्सनले गोल गर्दै डेनमार्कलाई पुनः अगाडि बढाए। ८२औं मिनेटमा जोआकिम माहलेले गोल गर्दै डेनमार्कको जित सुनिश्चित गरे। काउन्टर अट्याकमा अघि बढेको डेनमार्कका माहलेले विपक्षी गोलरक्षकलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।डेनमार्कले अब अन्तिम १६ को खेलमा वेल्सको सामना गर्नेछ। बेल्जियमले भने तेस्रो स्थान हासिल गर्ने कुनै एक टोलीको सामना गर्नेछ। डेनमार्कले पहिलो खेलमा फिनल्यान्डसँग १–० र दोस्रो खेलमा बेल्जियमसँग २–१ को हार बेहोरेको थियो। अन्तिम खेलमा जित हासिल गर्दै अर्को खेलको नतिजा पनि अनुकूल आएपछि डेनमार्क अघि बढेको हो ।

अहिलेसम्म समूह ‘ए’ र समूह ‘सी’को सम्पूर्ण खेल समाप्त भइसकेको छ। समूह ‘ए’बाट इटाली र समूह ‘सी’बाट नेदरल्यान्ड्सले शतप्रतिशत नतिजा निकाल्दै अन्तिम १६ को यात्रा तय गरिसकेका छन्। इटालीले अब अन्तिम १६ मा समूह ‘सी’को उपविजेता अस्ट्रियासँग खेल्नेछ। अस्ट्रियाले सोमबार भएको खेलमा युक्रेनलाई १–० ले पराजित गर्दै पहिलो पटक नकआउट चरणको यात्रा तय गरेको थियो। अस्ट्रियाको जितमा किस्टोफ बामगाट्नरले निर्णायक गोल गरेका थिए। अस्ट्रियाले तीन खेलमा दुई अंक जोड्दै दोस्रो स्थान हासिल गर्दा तीन खेलमा नौ अंक जोडेको नेदरल्यान्ड्सले शीर्ष स्थानमा हात पार्‍यो ।नर्थ म्यासेडोनियालाई ३–० ले पराजित गर्दै डच टोलीले समूह विजेताको रूपमा अन्तिम १६ मा स्थान बनाएको हो। नेदरल्यान्ड्सको प्रभावशाली जितमा जर्जिनियो विज्लडमले दुई तथा डेम्फिस डिपेले एक गोल गरेका थिए। तीन अंक जोडेको युक्रेनले भने अन्य समूहको नतिजा कुर्नु पर्ने भएको छ। नर्थ म्यासेडोनिया पहिलो सहभागितामा अंकविहीन रहँदै घर फर्कियो। नेदरल्यान्ड्सले अन्तिम १६ मा तेस्रो स्थान हासिल गर्ने टोलीको सामना गर्नेछ। कुन टोलीसँग खेल्ने भन्ने टुंगो भने लाग्न बाँकी छ।