कोरोना महामारीको समयमा मन्त्रीविहीन बन्यो स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति:

कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन बनेको छ । सर्वोच्च अदालतको मंगलवारको आदेशपछि अन्य १९ जनासँगै जेठ २१ गते मन्त्री बनेका शेरबहादुर तामाङ पनि विदा भएका छन् । तामाङ स्वास्थ्य मन्त्री बनेपछि कोरोना विरुद्धको खोपका लागि पहल तीब्र बनाएका थिए । मन्त्रालयको नेतृत्व लिएपछि आफूले तीनवटा काम गरेको मन्त्री तामाङले लोकान्तरलाई बताए ।

‘सबै सरकारी अस्पतालको सबलीकरण, सर्वसाधारण नेपाली जनताले निशुल्क उपचार पाउनु पर्ने कुरा र कोरोनाविरुद्धको खोप जतिसक्दो छिटो ल्याउने काममा दत्तचित्त भएर लागेको थिए’ पदमुक्त भएका मन्त्री तामाङले मंगलवार राति  भने, ‘मन्त्रालय नेतृत्वबिहीन भएका कारण खोप ल्याउन ढिला भएर कोही नेपालीको मृत्यु नहोस भनेर कामना गरिरहेको छु ।’कोरोनाविरुद्धको खोपका लागि कुटनीतिक पहल गरिरहेको परराष्ट्र मन्त्रालय पनि नेतृत्वबिहीन बनेको छ । तामाङसँगै रघुवीर महासेठ परराष्ट्र मन्त्री बनेका थिए । सर्वोच्चको आदेशपछि उनीपनि पदमुक्त भएका छन् ।‘खोपका लागि धेरै प्रयत्न गरिएको छ, हामी गएपनि नेपाली जनताले छिट्टै खोप पाउनु हुन्छ’ तामाङले भने । कोरोना महामारी र खोपको विषयमा राष्ट्रपति विद्या भण्डारीले आइतवार स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूसँग परामर्श गरेकी थिइन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलवार नवनियुक्त मन्त्रीहरुलाई काम गर्नमा रोक लगाएको थियो । पदमुक्त भएका मन्त्रीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार साझ बालुवाटारमा छलफल गरेका थिए ।