जनसंघर्ष’ ३२ औं वर्षमा प्रवेश

प्रकाशित मिति:

बुटवल– ९ असार । नेपाली पत्रकारितामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनसंघर्ष राष्ट्रिय साप्ताहिक ३२ औं वर्षमा प्रवेश गरेको छ । विगत ३१ वर्ष अघि वि.सं. २०४७ जेठ ३० गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भई असार ०९ गते पहिलो अंक प्रकाशित भएको यो पत्रिका २३ वर्षसम्म अनवरत राष्ट्रिय दैनिकको रुपमा प्रकाशित भई वि.सं. २०६९ मंसिर १४ गतेदेखि राष्ट्रिय साप्ताहिकका रुपमा अविछिन्न प्रकाशित भई आएको छ । प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि स्थापना कालदेखि नै सूचना, समाचार र विचार सम्प्रेषण गर्दै आएको यो पत्रिका आम पाठकहरुका बीचमा अत्यन्तै लोकप्रिय रहेको छ । बुटवल मिडिया प्रकाशन प्रा. लि. द्वारा राष्ट्रिय दैनिक दैनिक पत्र, राष्ट्रिय साप्ताहिक जनसंघर्ष, स्वाधीन राष्ट्रिय मासिक र अनलाईन संस्करणमा दैनिक पत्र डटकम संस्थागत रुपमा प्रकाशित हुँदै आएका छन् ।

जनसंघर्ष ३२ औं वर्ष प्रवेशका सन्दर्भमा बुधबार जनसंघर्षका संस्थापक, वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईंलगायतका पत्रकार तथा कर्मचारी परिवारद्वारा संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी वार्षिकोत्सवको शुभारम्भ गरिएको छ ।सो अवसरमा संस्थापक डा. चापागाईंले जनसंघर्षको यात्रा चुनौतीपूर्ण भएतापनि त्यो भन्दा धेरै गौरवपूर्ण भएको भन्दै यस सत्कार्यमा कर्मचारी परिवार, पत्रकार, लेखक, लगानीकर्ता, विज्ञापनदाता एवं शुभेच्छुकहरुको योगदान र प्रेरणा महत्वपूर्ण रहेको बताउनु भयो ।त्यस्तै गरी संस्थाका व्यवस्थापक मञ्जु पौडेलले नेपाली पत्रकारितामा जनसंघर्षको योगदान गौरवपूर्ण रहेको चर्चा गर्दै व्यवसायिक पत्रकारिताको यात्रामा बुटवल मिडिया प्रकाशन प्रा.लि.द्वारा प्रकाशित दैनिक पत्र, जनसंघर्ष, स्वाधीन र दैनिक पत्र डटकम नमुना प्रकाशनका रुपमा स्थापित भएकामा कर्मचारी परिवारलाई गौरवको महसुस भएको बताउनु भयो ।

संस्थाका बजार अधिकृत कृष्ण रणपालले आम पाठक, विज्ञापनदाता, उद्योगी,व्यवसायी, बुद्धिजीवी, श्रमिकवर्ग सबैका लागि जनसंघर्ष प्रिय पत्रिका भएको बताउँदै आगामी यात्रा चुनौतीपूर्ण भएपनि त्यसलाई सामना गरेर व्यवसायिक सफलताका साथ अघि बढ्न जनसंघर्ष परिवार सक्षम रहेको बताउनु भयो ।सो अवसरमा संस्थाका लेखा प्रमुख उषा पौडेल, कार्यालय प्रतिनिधि पवित्रा पन्थी, बजार प्रवद्र्धक देवकला खरेल, रामबाबु पाण्डे, सीमा लामिछान, इन्दिरा बस्याल, तुलसी सुवेदीलगायतका कर्मचारीले मन्तव्य व्यक्त गरेका थिए । वार्षिकोत्सवको भव्य कार्यक्रम गर्ने विगतको परम्परा भए तापनि कोरोना महामारीका कारण प्रतिकात्मक रुपमा मात्र वार्षिकोत्सवको शुभारम्भ गरिएको संस्थाका व्यवस्थापक मञ्जु पौडेलले बताउनु भयो । ३२ औं वर्ष प्रवेशका सन्दर्भमा जनसंघर्षले ‘संघीयतामा स्थानीय सरकारको भूमिका’ विषयसँग सम्बन्धित विभिन्न पठनीय सामग्री सहित २४ पृष्ठको विशेषाङ्क प्रकाशित गरेको छ ।