नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

प्रकाशित मिति:

काठमाडौँ — निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता भएको छ । एमालेको माधवकुमार नेपाल समूह निकट नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता भएको हो । आयोगको ३० जेठमा बसेको बैठकको निर्णय अनुसार बुधबार राईले दल दर्ताको प्रमाणपत्र बुझेका छन् । राईका अनुसार नेकपा एकीकृतको चुनाव चिन्ह कलम रहेको छ ।

उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए । यद्यपी राईले नेताहरुको सल्लाहमा नभई आफ्नो हिसाबले दल दर्ता गरेको दाबी गरे । ‘नेताहरुसँगको सल्लाहमा दल दर्ता भएको हैन । यसबारे उहाँहरुलाई जानकारी थिएन । दर्ता भईसकेपछि उहाँहरुले पनि थाहा पाउनु भयो होला,’ उनले भने । राईका अनुसार नेकपा एकीकृतको उपाध्यक्ष कल्पना गुरुङ र महासचिव विनोद खुलाल रहेका छन् ।