पोखरा महानगरको नवौं नगरसभा : प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति:

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध रहेको बताएका छन् । पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने भनाई राखे । संघ सरकारले अनुदानका रुपमा पाउने र खरिद गर्ने वाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत आफूहरुले अध्ययन गरिरहेको मुख्यमन्त्री पोखरेलले बताए ।

संघीयताको आधारस्तम्भ स्थानीय तहलाई थप मजबुत र अधिकार सम्पन्न गराउन संघ र प्रदेश सरकार लाग्नुपर्ने उनले बताए । उनले लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनु पर्ने बताएका हुन् । उनले भने, ‘संविधानमा उल्लेखित साझा अधिकारका सूची कार्यान्वयनमा साझा दृष्टिकोण भने बनाउनु पर्नेछ । उनले विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र सहकार्य हुनु पर्ने बताए ।कार्यक्रमको सुरुमा मुख्यमन्त्री पोखरेलले महानगरले प्रकाशन गरेको कानुनहरुको संगालो विमोचन गरे ।कोरोना नियन्त्रण र प्राकृतिक प्रकोप पीडितको व्यवस्थापनमा प्रदेशले बनाएका योजनामा महानगरबाट सहयोगको अपेक्षा गरेको भनाइ उनले राखे । यसैगरी गण्डकी प्रदेशको लाइफलाइन कोरोला, पोखरा, त्रिवेणी सडकको निर्माणमा समेत सहकार्य गर्न सकिने उनको भनाइ थियो ।

लोककल्याणकारी राज्यको अवधारणा अनुसार विकासले नागरिकको समृन्नती र गरिबी न्यूनिकरण गर्नुपर्छ भन्ने मान्यता सरकारले बोकेको भन्दै उनले सुशासन स्थापनालाई पनि प्राथमिकतामा राखेर अगाडि बढेको बताए । पारदर्शिता र उत्तरदायित्व सहितको नागरिक शासन भएमा मात्र कुनै पनि शासन व्यवस्था सुदृढ हुने भएकाले राजनीतिक नेतृत्वले यसलाई मनन् गर्नुपर्नेमा उनले जोड दिए । पछाडि परेको वर्ग, क्षेत्रको उत्थानका लागि पनि दुवै तहका सरकारबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो ।प्रदेश र स्थानीय तहमा अझै पनि जनशक्ति व्यवस्थापन ठूलो चुनौती रहेको भन्दै यसका लागि संघ सरकारले छिटो निजामती सेवा ऐन ल्याउनु पर्नेमा उनले जोड दिए । उनले भने,‘ यी समग्र आधारहरुमा टेकेर विकास र सुशासनलाई सहकार्य र समन्वय गर्दै अगाडि बढ्नु पर्दछ भन्ने हाम्रो मान्यता छ ।’

मुख्यमन्त्री पोखरेलले प्रदेश समृद्धिको मुख्य आधार पर्यटन नै भएकाले पोखरालाई पर्यटकीय नगर घोषणा गरेर त्यसै अनुसारको पूर्वाधार तयार सरकार प्रतिबद्ध रहेको जनाए । क्षेत्रफलका हिसावमा मुलुककै ठूलो महानगर पोखराले ‘समुन्नत पर्यटकीय पोखरा’ लाई दुरदृष्टि मानेको छ । पर्यटकीय, शैक्षिक र हरेक हिसावले अग्रपथमा लम्केको पोखरालाई अझै समुन्नत बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । गण्डकी प्रदेशको राजधानी पोखराबाट विश्वका ८ हजार मिटरभन्दा अग्ला ३ वटा हिमालहरु (धवलागिरी, मनास्लु र अन्नपूर्ण प्रथम) एकै स्थानबाट हेर्न सकिन्छ । उनले भने, ‘सुन्दर र अनौठो माछापुच्छ«े पोखराको गौरव हो, ताल र गुफाले परिचित पोखरालाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले थप आकर्षक बनाएको छ ।’फेवा तालको सिल्टेसन ड्याम निर्माणमा पोखरा महानगरसँग प्रदेश सरकारले साझेदारी गरेको, लामे आहालमा प्रदेशस्तरीय बसपार्क स्थापनाको लागि आगामी आ.व.मा प्राथमिकतामा परेको उनले जानकारी गराए ।

महानगरको २२ किलोमिटर सडक अमेरिकी प्रविधिबाट बनेका अस्फाल्ट पिचमा पनि प्रदेशले सहकार्य गरेको उनले बताए । अन्य विभिन्न पूर्वाधार निर्माणमा साझेदारी र सहकार्य हुँदै आएको र आगामी दिन अझै बढाएर जाने उनको भनाइ थियो ।प्रदेश सरकारले घोषणा गरेको स्तन क्यान्सरको निशुल्क उपचार, ६५ वर्ष माथिका नागरिकहरुको निशुल्क उपचार, विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रममा पनि सहकार्य गर्न सकिने मुख्यमन्त्री पोखरेलले बताए । यसैगरी सक्षम महिला समानान्तर पाइला कार्यक्रम, सिप, दक्षता र रोजगारी, युवा पलायन रोक्ने हाम्रो जिम्मेवारी, एक सहकारी एक उत्पादन कार्यक्रम र सूचना प्रविधि पार्क लगायतका कार्यक्रमहरुमा सहकार्य र साझेदारी गर्न सकिने भनाइ मुख्यमन्त्री पोखरेलको थियो । पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आवका लागि ५ अर्ब ७२ करोडको बजेट ल्याइएको थियो । उपमेयर मञ्जु गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको छ । पुँजिगततर्फ ३ अबए ३७ लाख रुपैयाँ अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ ।