विपक्षी पाँच दलले दिन खाेजेका सन्देशहरु

प्रकाशित मिति:

काठमाडौं । विपक्षी गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि स्वेच्छाचारी, अलोकतान्त्रिक र संविधानविपरीत रहेको भन्दै त्यसविरुद्ध आवश्यक परे जनपरिचालनमा जाने बताएका छन् ।

विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह तथा राष्ट्रिय जनमोर्चाले आन्दोलनबाट प्राप्त उपलब्धि र देशको राष्ट्रियताको रक्षाका लागि आवश्यक परे जनपरिचालनसम्म जानुपर्ने अवस्था रहेको बताएको हो ।

विपक्षी गठबन्धनमा आबद्ध शीर्ष नेताले बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सम्पादकहरूसँगको अन्तत्र्रिmयामा प्रधानमन्त्री ओलीका निरंकुश कदमविरुद्ध र प्राप्त उपलब्धिको रक्षाका लागि दीर्घकालीन र सैद्धान्तिक आधारसहित गठबन्धन बनाइएको समेत बताए ।

अन्तक्र्रियालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न आवश्यक परे जनपरिचालनको दिशातर्फ अघि बढ्ने उद्घोष गरे ।

‘संविधान सभाले निर्माण गरी जारी नेपालको संविधान प्रधानमन्त्री केपी ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा छ,’ देउवाले भने, ‘प्राप्त उपलब्धिको रक्षा गर्ने संकल्पका साथ हामीहरू राजनीतिक र कानुनी संघर्षका विविध कार्यक्रमका साथ क्रियाशील छौं, आवश्यक परे जनपरिचालनको दिशातर्फसमेत अगाडि बढ्नेछौं ।’

उनले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेकोसमेत बताए ।

असंवैधानिक रूपमा दुई/दुईपटक प्रतिनिधि सभाको विघटन गर्ने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायतका राज्य संयन्त्रहरूमाथि नियन्त्रण गर्ने काम सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीबाट भएको भन्दै देउवाले चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नवीन संघर्ष जारी रहेको बताए ।

गठबन्धन दीर्घकालीन लक्ष्यसहित: दाहाल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले एकपछि अर्को गर्दै संविधान, लोकतन्त्र र राष्ट्रहितविपरीतका गतिविधिमा प्रधानमन्त्रीलाई साथ दिँदै आएको बताए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि विपक्षी दलको गठबन्धन बनाइएको भन्दै गठबन्धन दीर्घकालीन लक्ष्यसहित बनेको दाबी गरे ।

‘संविधानको रक्षा र समयानुकूल संविधान संशोधन गर्दै जाने, लोकतन्त्रका आधारभूत मूल्यको रक्षा, नेपालको राष्ट्रियता र स्वाधीनताको रक्षासहितका मूलभूत सिद्धान्तमा आधारित रहेर यो गठबन्धन बनेको हो, एउटा चुनावका लागि मात्रै होइन,’ दाहालले भने ।

उनले प्रधानमन्त्री पदका लागि मात्रै यो संघर्ष नभएकोसमेत प्रस्ट्याए । ‘प्रधानमन्त्री पदका लागि मात्रै यो संघर्ष होइन, यो त सिस्टम बचाउने र भत्काउनेबीचको लडाइँ हो, संविधान र लोकतन्त्र बचाउनेबीचको लडाइँ हो,’ दाहालले भने ।

उनले देशका लागि केपी ओली भिलेन हो भन्ने जनताले थाहा पाइसकेकोसमेत दाबी गर्दै भने, ‘सबै नेताहरू उस्तैउस्तै हुन् भन्ने लाग्ला, त्यस्तो होइन, केपी ओली देशका लागि भिलेन हो भन्ने जनताले थाहा पाइसके ।’ दाहालले केपी ओलीभन्दा कांग्रेस सयौं गुणा बढी वामपन्थी भएर आएकोसमेत बताए ।

‘केपी ओली अरूको इसारामा चल्ने, दलालहरूलाई साथ लिएर सरकार बनाउने, विदेशीको टाङमुनि छिर्ने अनि कांग्रेसलाई दक्षिणपन्थी भन्ने, कांग्रेस कसरी दक्षिणपन्थी ?, केपीभन्दा कांग्रेस सयौं गुणा बढी वामपन्थी भएर आयो,’ अन्तक्र्रियालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले भने ।

बयलगाढा सिद्वान्त प्रतिपादन गर्ने केपी र आन्दोलनको झन्डा बोक्ने माधव नेपाल उस्तै नभएको भन्दै दाहालले प्रश्न उठ्नेबित्तिकै राजीनामा दिने दाहाल र छोड्नुपरे देशै डुबाउन खोज्ने केपी ओली उस्तै हो त ? भन्ने प्रश्न पनि गरे ।

‘बयलगाढा सिद्वान्त प्रतिपादन गर्ने केपी र आन्दोलनको झन्डा बोक्ने माधव नेपाल उस्तै उस्तै हो ? प्रश्न उठ्नेबित्तिकै राजीनामा दिने दाहाल र छोड्नुपरे देशै डुबाउन खोज्ने केपी ओली उस्तै हो त ?,’ दाहालले प्रश्न गर्दै भने, ‘त्यो कदापि होइन ।’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देश गम्भीर संकटमा रहेकाले विपक्षमा रहेका दलहरूले एक भएर देशलाई केपी ओली र संकटबाट पार लगाउने बताए । उनले देशलाई संघीयता र गणतन्त्रबाट कसैलेपछि लैजान खोजे त्यो सम्भव नहुनेसमेत बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई सकाउन सधैं सबैभन्दा पहिलो प्रहार संसद् विघटन हुने गरेको इतिहास रहेको भन्दै संसद्लाई एउटै प्रधानमन्त्रीले दुई/दुईपटक विघटन गरेर स्वेच्छाचारी र निरंकुश शासन चलाउन खोजेको बताए ।

उनले प्रतिगमन र प्रतिक्रान्तिको विरुद्ध नागरिक समाज, मिडिया र समाजका सबै तप्का एक भएर अघि बढ्नुपर्ने बताए ।

यसैगरी, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले रअको प्रमुख गत कात्तिकमा नेपालमा आएपछि अप्रत्यासित रूपमा राजनीतिक घटनाक्रम बढेको बताए । उनले विपक्षमा रहेका पाँच दल एक ठाउँमा आएपछि प्रतिगमन परास्त भएरै छाड्नेसमेत दाबी गरे ।

विपक्षमा रहेका दलहरूले सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्नसमेत चोहेको भनेका छन् ।

उनीहरूले नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालबारे नेपालीहरूले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्छ भन्ने मान्यता आफूहरूमा प्रस्ट रहेकोसमेत भनेका छन् ।आजको राजधानी दैनिकमा समाचार छ ।