तिलोत्तमा, ११ असार । तिलोत्तमा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष झविन्द्रप्रसाद कंडेल र संस्थाका द्वितीय उपाध्यक्ष नेत्रप्रसाद न्यौपानेले निषेधाज्ञा अवधिको घरभाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । कंडेल र न्यौपानेले करिव एक दर्जन व्यावसायिक सटर भाडामा लगाएका छन् । व्यवसायीहरु कोरोनाको मारमा परेको र निषेधाज्ञामा व्यापार व्यवसाय पूर्णरुपमा ठप्प भएको भन्दै भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका हुन् ।
कोरोना संक्रमणबाट मानव जाति नै संकटमा परेका बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर कंडेल र न्यौपानेले भाडा छुटको घोषणा गरेको तिलोत्तमा चेम्बर अफ कमर्शका कार्यालय सचिव रामु सापकोटाले जानकारी दिए ।
संस्थाको केही दिन अगाडि मात्रै बसेको कार्यसमितिको बैठकले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमणले गर्दा व्यवसाय पूर्णरुपमा सञ्चालन नभएको उल्लेख गर्दै ५० प्रतिशत घरभाडा छुट गर्न पनि घरधनीहरुलाई आग्रह गरेको थियो । संघको आग्रहपछि कंडेल र न्यौपानेले भाडा छुट दिने निर्णय गरेका हुन् । तिलोत्तमा चेम्बर अफ कमर्शले घरबहाल करमा पनि ५० प्रतिशत छुट गर्न सम्बन्धित निकायमा अनुरोध गरेको छ ।