सर्लाहीमा एक्साभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

प्रकाशित मिति:

सर्लाही, असार १२ : सर्लाहीका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष श्रेष्ठको शुक्रबार राति हत्या भएको हो । शुक्रबार इश्वरपुर नगरपालिका वडा नम्बर-३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको इश्वरपुर नगरपालिकाले जनाएको छ ।

सर्लाहीका प्रहरीका अनुसार पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त्यहीँ भनाभनबाट विवाद समेत भएको थियो ।खाजा खाँदासम्म पनि भनाभन जारी नै रहेपछि वडाध्यक्षले चालक तामाङलाई चप्पलले हिर्काएपछि रिसमा जेसिबीको बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको प्रहरीले बताएको छ।

जेसिबी चालक तामाङले बकेटले वडाध्यक्षको टाउको र छातीमा प्रहार गरेर हत्या गरेको बताइएको छ । हत्यापछि उनको शवलाई ठेकेदार र चालक मिलेर गाडेको र शव रातभरि खोजेपछि मात्रै शनिबार बिहान उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।