पश्चिम नवलपरासीमा निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै एक हप्ता थप

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार १३ गते
नवलपरासी । पश्चिम नवलपरासीमा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरि एक हप्ताका लागि सातौं पटक थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार असार १४ गते रातीसम्म कायम रहेको निषेधाज्ञालाई असार २१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।

स्वास्थ्य मापदण्ड पालन गर्दै अब जिल्लामा होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेस सञ्चालन नगर्ने तर होटेल तथा रेष्टुरेण्टले विहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म टेक अवे तथा होम डेलिभरी सेवा संचालन गर्न सक्ने निर्णय गरिएको छ ।

हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा/मासु, अण्डा, एग्रोभट, विउविजन, रासायनिक मल, खाना पकाउने ग्यास, लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु तथा स्टेशनरी पसल मात्र साँझ ५ बजेपछि खोल्न पाइने भएको छ । तर हाटबजार, मण्डी जस्ता भिडभाड हुने स्थानमा विक्री वितरण गर्न भने पाइने छैन ।

यस्तै जिल्लाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंक तथा वित्तिय संस्थाहरुबाट प्रवाह हुने सेवालाई तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी संचालन गर्न भनिएको छ । साथै बार अनुसार स्थानीय तह तोकी आलोपालो सेवा गरिने पनि निर्णय गरिएको छ ।

महेशपुर भन्सार नाका प्रयोग गरी आउने मालवाहक सवारी साधनहरु (खाद्यान्न, औद्योगिक कच्चा पदार्थ लगायतका मालवस्तु)ले स्वास्थ्य मापदण्ड प्रयोग गरे नगरेको चेकजाँच लगायतका कार्य गरी जाँचपास गरि सवारी साधनहरुलाई राती ६ः०० बजेपश्चात मात्र भन्सारबाट गन्तव्यका लागि आवतजावतको आवश्यक व्यवस्था मिलाइने भएको छ । यसअघि सो कार्यका लागि राती ९ बजेपछि थियो ।

जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी भएको हो ।