काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग

प्रकाशित मिति:

काठमाडौं, असार १३ . नेपाली काँग्रेसका नेताहरुले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन् ।लोकतान्त्रिक सचेतना अभियानले आज यहाँ आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक भर्चुअल अन्तक्र्रियामा नेताहरुले वडा तहदेखि नै महिला र युवाको सहभागिता बढाउनुपर्ने बताएका हुन् । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसभित्र वडा तहदेखि केन्द्रसम्म नै महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताईन् ।

उनले महिला क्षमतावान र सक्षम भएपनि नेतृत्वका लागि पार्टीभित्रबाटै असहयोग हुने गरेको गुनासो गरिन् । स्थानीय तहमा महिला सहभागिता विस्तारै बढ्दै गए पनि केन्द्रमा भने अत्यन्त न्यून रहेको उनको भनाइ थियो । काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको पदाधिकारीमा महिलालाई स्थान दिनेबारे विधान बनाउँदा कमजोरी भएको बताए ।आगामी महाधिवेशनबाट काँग्रेस पदाधिकारीमा युवाहरु आउनु पर्दछ” उनले भने । अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधि र विधानमा चल्न नसक्दा अहिलेको अवस्था आएको बताए । केन्द्रीय सदस्य सीता गुरुङले काँग्रेससँगै स्थापना भएको नेपाल महिला सङ्घले अहिलेसम्म पार्टीको नेतृत्व गर्न नपाउनु दुःखद् कुरा भएको बताईन् ।

पार्टीभित्र महिला अधिकारका लागि अझै लड्नुपर्ने अवस्था रहेको छ, भने । अर्का केन्द्रीय सदस्य सरिता प्रसाईँले काँग्रेसले नयाँ र पुराना क्रियाशील सदस्यतालाई समेटेर अगाडि बढाए मात्र पार्टी बलियो हुने बताईन् । पार्टीभित्रका भ्रातृ र शुभेच्छुक संस्थाको समयमा महाधिवेशन हुन नसक्नु दुःखद् भएको उनको भनाइ थियो । सो अवसरमा नेपाल महिला सङ्घकी महासचिव धना खतिवडा, काँग्रेस पाँचथरका सभापति नरेन्द्र केरुङ, ताप्लेजुङका सभापति लीला वोखिम लगायतले केन्द्रीय कार्यसमितिमा महिला सहभागिता बढाउनु पर्नेमा जोड दिए ।