नेप्सेमा ४७ अंकको करेक्सन

प्रकाशित मिति:

दुई दिनको सामान्य बृद्धिपछि नेप्सेमा पुनः ४७ अंकको करेक्सन देखिएको छ। गत आइतबार र सोमबार सामान्य अंकले बढेर बन्द भएको बजार मंगलबार साढे १ प्रतिशतभन्दा धेरैले घटेको हाे। यस दिन नेप्से सूचक ४७.४९ अंकले घटेर २८२८ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ९.८७ अंकले घटेर ५२३.७० विन्दुमा झरेको छ। यस दिन कारोबार रकममा पनि कमी आएको छ। अघिल्ले दिन ७ अर्बभन्दा धेरैको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम ७ अर्बभन्दा कम छ। यस दिन २२३ वटा कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँमा खरिद बिक्री भएको छ।

मंगलबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.११ प्रतिशतले घटेको छ भने विकास बैंक उपसमूहको सूचक पनि ३.९५ प्रतिशतले घटेको छ। मंगलबार ओरियन्टल होटलको शेयरमूल्य सबैभन्दा धेरै ५.७६ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको ४.२५ प्रतिशत, सामुदायीक लघुवित्तको ३.६६ प्रतिशत, तारागाँउ रिजेन्सि होटलको २.८४ प्रतिशत र सिभिल लघुवित्तको २.४७ प्रतिशतले बढेको छ।

यता प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.५५ प्रतिशतले घटेको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको ८.०७ प्रतिशत, बेस्ट फाइनान्सको ८.०१ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ७.१८ प्रतिशत र सेन्ट्रल फाइनान्सको ६.९० प्रतिशतले घटेको छ। मंगलबार राधि विद्युतको सबैभन्दा धेरै ४९ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको ३६ करोड ७८ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको २९ करोड ६७ लाख, नेपाल इन्स्योरेन्सको २३ करोड ९९ लाख र नेपाल पुनर्बीमा कम्पनीको १६ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।