जीवन विकासको आइपीओ २० लाख ८४ हजारभन्दा बढीले भरे

प्रकाशित मिति:

काठमाडौं : जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । यसमा हालसम्मकै उच्च २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबार साँझ ५ः४५ बजेसम्ममा ३ करोड १२ लाख ६६ हजार २६० कित्ताका लागि आवेदन परेको छ ।

यसअघि ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए । जीवन विकासले यसलाई पनि पछि पारेको हो । हालसम्म सर्वसााधारणबाट माग भन्दा १६.९१ गुणा बढी आवेदन परिसकेको छ । आज लघुवित्तको आइपीओमा आवेदन दिने अन्तिम दिन हो । तथापि, यो अन्तिम तथ्यांक भने नभएको बिक्री प्रबन्धकले जनाएको छ । अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ ।

कम्पनीले असार ११ गतेदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिन सक्नेछन् । कुल निष्कासित इकाईमध्ये ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ ।