सिन्धुपाल्चोकका बाढीपीडितका लागि प्रेसर कुकर सहयोग

प्रकाशित मिति:

ललितपुर जिल्लाका रोटरी क्लबहरुको सञ्जालले सिन्धुपाल्चोकका बाढीपीडितका लागि २७५ थान प्रेसर कुकर सहयोग गरेको छ । ललितपुर जिल्लामा अवस्थित १७ वटा रोटरी क्लबको सञ्जालले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत २७५ थान प्रेसर कुकर सहयोग गरेको हो ।

बाढीपीडितलाई प्रेसर कुकरको आवश्यकता रहेको भन्ने सूचनाका आधारमा आफूहरुले प्रेसर कुकर सहयोग गरेको रोटरी क्लब सञ्जालका संयोजक सुरेश आचार्यले बताए । आफुहरुले राज्यको निकायलाई सहयोग हस्तान्तरण गरेर विपत्तिमा एकद्वार प्रणालीमार्फत राहत तथा सहयोग वितरण गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको पनि उनले बताए ।सहयोग बुझ्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। अनिल पोखरेलले राहत वितरणमा एकद्वार प्रणालीमा कसरी जान सकिन्छ भन्ने उदाहरण यो सञ्जाल बनेको बताए । उनले छिटोभन्दा छिटो बाढीपीडितका लागि आएको प्रेसर कुकर प्रभावितको हातमा पुर्याउने बताए ।

असार १ गते सिन्धुपाल्चोकमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा निकै ठूलो धनजनको क्षति भएको थियो । बाढी प्रभावितका लागि अझै पनि विभिन्न निकायमार्फत राहत वितरण भइरहेको छ ।