माधव नेपाल विनै जेठ २ गतेमा फर्किंदै एमाले

प्रकाशित मिति:

नेकपा एमाले २०७५ जेठ २ जेठ गतेकै अवस्थामा फर्किने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो ।एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको बताए ।दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि जेठ २ गतेकै अवस्थामा एमालेलाई फर्काउन अध्यक्ष केपी शर्मा ओली सहमत भएका हुन् ।

गत फागुन २३ गतेमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २०७५ जेठ २ गतेकै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र भइरहेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम सहितको समूहले जेठ २ गतेको पार्टी कमिटी अनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएका थिए ।महाधिवेशन आयोजक कमिटीको एजेन्डा तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यबारे टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक मंगलवार बसेको हो । बुधवार बस्ने आयोजक कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान हुनेछ ।केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्बहाली हुने र ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।एमाले स्रोतका अनुसार ३ जेठ २०७५ सम्म जो जुन पदमा थिए सोही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् । अर्थात् नेकपा एकतापछि एमालेमा फर्किएका पूर्वमाओवादी केन्द्रका नेताहरूसमेत सोही जिम्मेवारीसहित एमाले बैठकमा सहभागी हुनेछन् । नेकपामा हुँदा उनीहरू जुन जिम्मेवारीमा थिए त्यो यथावत् नै रहनेछ ।

उता एमालेको १०औं महाधिवेशन आयोजक कमिटी विघटनको बैठक बुधवार बस्दैछ । महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूहका नेताहरू सहभागी नहुने बताइएको छ ।तर ओली समूहले नेपालसहित कारबाहीमा परेका ११ जना नेताबाहेक सबैलाई बैठकमा सहभागी हुन भनेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले कारबाहीमा परेका ११ जनाबाहेकका सबै नेतालाई बैठकमा सहभागी हुन बोलाइएको बताए ।वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, कल्याणी खडका, रामकुमारी झाँक्रीसहितका ११ जना नेतालाई जेठ १० गतेको बैठकले पार्टीबाट कारबाही गरेको थियो । राजधानी दैनिकमा खबर छ ।