राज्यकै कारण कृषि संकटमा – नेता भुषाल- कृषि नै मुलुक रुपान्तरणको बलियो आधार बन्न सक्ने

प्रकाशित मिति:

भरत प्रधान बुटवल, असार । सामाजिक अभियन्ता एवं नेपाली काँग्रेसका नेता डा। दामोदर भुषालले राज्यका कारण कृषि क्षेत्र संकटमा परेको बताएका छन् । मंगलबार राष्ट्रिय धान दिवसको अवसर पारेर उद्यमशिल टोल बिकास संस्थाले तिलोत्तमा–१० शान्तीनगरमा आयोजना गरेको धान रोपाई कार्यक्रममा बोल्दै नेता भुषालले राज्य सञ्चालक र कर्मचारी संयन्त्रबाट कृषि क्षेत्रको सहि ढंगले रुपान्तरण हुन नसक्दा कृषि क्षेत्र संकटमा परेको बताए ।

मल, बिउ, बिजन लगायतका कृषि सामाग्रीमा हुने चलखेलका कारण कृषि क्षेत्र धरासायी बन्दै गएको उल्लेख गर्दै भुषालले कृषि क्षेत्रको सुधारका लागि आक्रमक रुपमा कृषिको रुपान्तरण गनुपर्ने बताए । प्रबिधीलाई अवलम्बन गर्न सकिए कृषिमा आधारित रहेर उद्योग, पर्यटन, खेलकुद लगायतका धेरै काम गर्न सकिने बताउंदै नेता भुषालले कृषिको आधुनिकीकरणका लागि प्रबिधीको अवलम्बन र रुपान्तरण गर्नुपर्नेमा जोड दिए । राज्यले कृषि क्षेत्रको सुधारका लागि प्रयास गरेको भएपनि त्यो पर्याप्त नभएको उनको भनाई थियो ।

भुषालले किसानलाई दिईने कृषि सामाग्री र अनुदानको सही अनुगमन हुन नसक्दा राज्यको ढुकुटी रित्ताउने काम मात्र भईरहेको आरोप समेत लगाए । उनले प्रबिधीमा आधारित रहेर कृषिको रुपान्तरण गर्न सकिए कृषि नै मुलुक रुपान्तरणको बलियो आधार बन्न सक्ने धारणा ब्यक्त गरे । चिन, भारत, कोरिया जस्ता मुलुकले प्रबिधीको उच्चतम प्रयोग गरेकै कारण कृषिमा छलाङ मारेको उल्लेख गर्दै भुषालले प्रबिधीको अवलम्बन गर्न नसक्दा नेपाल पछाडी परेको बताए ।