रूपा–घरभेटी प्रकरण र दलित विमर्शको सार वस्तु

प्रकाशित मिति:

युवराज पौडेल –  विषय प्रवेश – दलित विभेदका घटनाहरू समय समयमा राष्ट्रिय मिडियाहरूमा छाइरहन्छन् । नवराज बिकको प्रेम जातीय कारणले दुर्घटनाको शिकार भएपछि मिडियामा त्यो विषय निकै चर्चामा आयो । फेरि यतिबेला एक जनायुवतीरूपा सुनारले काठमाडौंमा कोठा भाडामा लिन खोज्दा घरभेटीले जातीय पहिचान खुलेपछि दलित भएकै कारणले भाडामा दिननसकिने प्रतिक्रिया दिएपछि दलित विभेदका विमर्शमाथि दिनहुँ जसो विचार विमर्शहरू भइरहेका छन् ।

रूपा सुनार एक शिक्षित युवती हुन् । उनी मिडियाकर्मी पनि हुन् । उनले बोल्न सक्छिन् । आफ्नो समस्यालाई उनले स्पष्ट र बुझिने शैलीमा राख्न सक्छिन् र विभेदमा पर्दा त्यसको उपचार कसरी गर्ने भन्ने ज्ञान पनिउन लाई छ । त्यसैले उनले घरभेटीबाट भएको जातीय विभेदलाई सहन सकिनन् । उनले त्यसलाई बाहिर ल्याइन् । रूपा र घरभेटी महिलाका बिचमा भएको टेलिफोन कुराकानीको अडियो समेत बाहिर आयो । अडियो अनुसार घरभेटीले जातीय कारणले नै कोठा भाडामा नदिएको आशय प्रष्ट हुन्छ । यद्यपि उनले प्रयोग गरेको भाषा केही नरम र सुझबुझपूर्ण देखिन्छ । उनले आमाले पूजाआजा गर्ने कारणले समस्या हुने भएकाले कोठा दिननसक्ने खालको जवाफदिएर घुमीफिरी रुम्जाटार भनेझैं जातीय विभेदलाई नै दर्शाएकी छन् ।

रूपा सुनारहरू हिम्मत गरेर बाहिर आए । कति रूपा सुनारहरु विभेद सहेरै बसेका छन् । रूपाले त ‘कामीकी छोरी हुँ’ भनेर खुलारूपमा आफूलाई दलितका रूपमा हीनताबोध नगरी चिनाउन सकिन् । तर हजारौं गुप्त रूपाहरू घरघरमा पीडाको भारी बाकेर युगौँ देखि बाँचेका छन् । बाटोबाटोमा, चोक चोकमा तिनले विभेद भोगिरहेका छन् तापनि ती मौन छन् । किनकि ती बोल्न सक्दैनन् । गाउँगाँउमा बलात्कृत भएका, मन्दिरबाट घोक्रेठ्याक लगाइएका, घरको आगनको छेउमा टुक्रुक्क बसेर विष्ट बराजु भनेर मालिकले दिएको खाने दलितहरूको आवाज यहाँ कसले बोल्छ ?

रूप र सारमा भिन्नता-यहाँनेर सिधाहिसाबले घरभेटीलाई दोषी देखाउन त सकिन्छ किनकि उनले आमाले पूजाआजा गर्न समस्या हुन्छ भनेर दलित केटीलाई घरबाट पन्छाउन खोजिन् । तर यो त रूप पक्ष न हो । ती घरभेटीको दिमागमा ‘दलितलाई कोठा दियो भने पूजाआजामा समस्या हुन्छ’ भन्ने मानसिकता कसले हालि दियो भन्ने कुरा सबैभन्दा प्रधान कुरा हो । उनको अचेतन मनमै ‘दलितले छोयो भने अशुद्ध हुन्छ’ भन्ने विमर्श कसले पैदा ग¥यो भन्ने कुरा सार हो । रूपमापात्र र प्रतिनिधिवा प्रस्तुति विविध प्रकारको हुन सक्छ । जस्तो नवराज उच्चजातको केटीसँग प्रेममा थिए । तल्लो जातको युवाले उपल्लो जातकी केटीसँग विवाह गर्न सक्दैन’ भन्ने पहिलेदेखि नै जरा गाडेर मानिसका अन्तश्चेतनामा रहेको विमर्शका कारण त्यहाँ सिङ्गो गाउँ नै दलितका विरुद्धमा खनियो । रूप पक्षप्रेम र विवाह भयो तर अन्तरवस्तु वा सार भनेको ‘दलित फरक हुन्’ भन्ने विभेदकारी ज्ञानात्मक विमर्श नै हो । कतै प्रेममा, कतै कोठा भाडामा, कतै मन्दिरमा, कतै धारामा विविधरूपमा सत्ताले निर्माण गरेको ज्ञानात्मक विमर्श अभिव्यक्त भइरहेको हुन्छ ।

शक्ति, सत्ता र विमर्श-अब रह्यो कसले निर्माण गर्यो त दलितहरुलाई ‘अन्यभन्दा फरक हुन्’ भन्ने कथन ? तपाईं हामीले जन्मदैँ ‘दलित फरक हुन्’भन्ने ज्ञान लिएर आएको हो त ? कदापि होइन । यो त सत्ता र शक्तिले निर्माण गरेको ज्ञानात्मक विमर्श हो । मिसेल फुकोले इतिहासका सत्यहरू निर्माणमा शक्ति र सत्ताको भूमिकाहुने कुरालाई स्पष्ट पारेका छन् । विमर्श भनेका सत्ताका हतियार हुन् । विमर्शहरू जहिले पनि सत्ताले निर्माण गरिरहेको हुन्छ । मानौं ‘पृथ्वीनारायण शाहले बहादुरी गरे’ भन्ने इतिहास सत्ताले लेखेको विमर्शमा आधारित भएर पुस्तौंदेखि सक्रिय छ । उदयानन्द अज्र्यालहरुले कवितामा पृथ्वी नारायणको बहादुरी र प्रशस्ति गाएको पनि सत्ताकै विमर्श तयार गरेको हो । सत्ताले आफूलाई बलियो बनाउन सामाजिक, आर्थिक, राजनैतिक विमर्शहरू आफू अनुकूलका तयार गरिरहन्छ । जस्तो महेन्द्रले माटो सुहाउँदो पञ्चायतको राजनैतिक विमर्शलाई विभिन्न माध्यमबाट प्रचार गरे ।

सामाजिक विमर्शका रूपमा सत्तामा भएका तत्कालीन उच्च जातका शासकहरूले दलित विमर्शको कथा रचे । यो खास गरी भारतीय उपमहाद्वीपमा रचियो । यसका लागि शासकले सबैभन्दा बलियो हतियार धर्म ग्रन्थहरूलाई बनाए । मनुस्मृति र पुराणहरूलाई हतियार बनाएर दलित विभेदका आख्यानहरू निर्माण भए । ब्रह्माण, क्षेत्री, वैश्य, शुद्र भन्दै विभाजनका बिउहरू धर्म र ईश्वरसँग जोडेर रोपियो ।यस्तो बनाइयो कि ईश्वरले नै मान्छे फरक बनाएका हुन् । हिजो जे कर्म लेखेर ल्याइयो, आज त्यही भोग्नुपर्छ भन्ने खालको भाग्यवादी चिन्तनलाई फैलाइयो किनकि जातीय विभाजन र विभेदले कर्मवादलाई निषेध गर्छ । ‘मानिस कामको आधारमा महान् हुन्छ’ भन्ने विमर्श स्थापना भएको भए र सत्ताका ‘बाइप्रडक्ट’हरूले त्यसरी नै व्याख्या गर्दै आएको भए आज भनिएका सबै दलितहरू जातीय विभाजनको सबैभन्दा उपल्लो सोपान क्रममा हुन्थे होला ।तर नेपालको राज्यसत्ता सधैं दलित इतर जातका हातमा भएकाले उनीहरूले आफूलाई माथि पार्ने नीति नियम र मूल्य मान्यताहरूलाई संस्थागत गर्दै गए । मुलुकी ऐनमार्फत् सत्ताले बनाएका विभिन्न खालका सामाजिक विभेदका डिस्कोर्सहरूलाई कानुनी आधार दिने काम गरियो । सामाजिक घेरामा सीमित दलित विमर्शका मान्यताहरू अब कानुनमै लिपिबद्ध भए । जब सत्ता र शक्तिले विभिन्न माध्यमबाट मूल्य मान्यताहरू फैलाउँछ, त्यसपछि ती एकप्रकारले अकाट्य जस्ता बन्छन् । ठूलो समूहले त्यसलाई स्वीकार गर्दै जान्छ । यही स्थिति बन्दै गयो ।

बोली र व्यवहारमा भिन्नता-यहाँ काठमाडौंको घरभेटीको मात्र कुरा होइन, यहाँ असाध्यै शिक्षित भनिएका परिवर्तनको पक्षमा आवाज उठाउने भनिएकाहरू कै घर परिवारमा विभेद छ कि छैन ? दलितका पक्षमा बोल्ने हामी जस्ताकै व्यवहारमा कत्तिको विभेद छ ? के हामी खुलारूपमा आफ्नो छोराले मन पराएकी दलित युवतीलाई घर भित्रयाउने हिम्मत गर्न सक्छौं ? के हामी दलितलाई हाम्रा भान्सामा ल्याएर सँगसँगै अँगालोमा जोडिएर खाना खान सक्छौं ? मलाई लाग्छ बोलेजस्तो व्यवहार कतै पनि छैन । काठमाडौंकी घरभेटीलाई गाली गर्नुभन्दा हामी प्रत्येकले दलित साथीलाई आफ्ना घरका भान्सामा लगेर सँगै हार्दिकता पूर्वक खान सकौँ । बाबुरामले मुसहर बस्तीमा खाना खाँदा नपचाउने समाजले दलितलाई उदार आँखाले हेर्छ भनेर म कसरी पत्याऊँ ? ठूलाठूला डाक्टर उपाधि गरेका समाजशास्त्रीहरूका टेलिभिजनका स्क्रिनमा जातीय विभेदका विरुद्धमा क्रान्तिकारी आवाजहरू सुनिन्छन् । जातीय विभेदका विरुद्धमा कयौं सङ्घ संस्थाहरू र अभियन्ताहरू लागिरहेका पनि देखिन्छन् । तर तिनै विभेदका विरुद्ध बोल्नेहरूको घरमा एक चोटि पुग्नोस् त व्यवहार के हुन्छ ? सबैभन्दा बढी विभेदकारी सोच पालेर बसेकाहरू नै जातीय विभेदका अभियन्ता दबनिरहेको बिडम्बनापूर्ण स्थितिमा नवराज बिक र रूपा सुनारहरूले मुक्ति पाउलान् भनेर म चाहिँ पत्याउन सक्तिन् ।

म कथित ब्रह्माण-म आफै कथित ब्रह्माणको छोरा हुँ । मैले नै मेरा दलित साथीलाई भान्सामा ल्याएर खुवाउने हिम्मत आजसम्म गर्न सकेको छैन । जबकि म यो समाजको शिक्षित व्यक्ति मात्र होइन, अरूलाई शिक्षादिने शिक्षक र दुई चार अक्षर लेख्ने मानिस पनिहुँ । मैले परिवर्तकारी विचारको प्रतिनिधित्व पनि गर्छु । ‘जातीय विभेद गर्नुहुँदैन’भनेर कक्षामा पढाउने देखि पत्रिकामा लेख्नेसम्म काम गर्ने स्वयम् मैले मेरा छोरालाई दलितकी छोरी बिहे गर्न सक्दिनभने अन्य अशिक्षित र पुरातनवादी सोच लिएर बसेका जडसुत्रवादीहरूले जातीय विभेदका विरुद्ध मैत्रीपूर्ण व्यवहार गर्लान् भनेर कल्पना गर्न कसरी सकिएला र ? मलाई उच्च जातमा जन्मेकोमा गर्व पटक्कै छैन किनभने मेरो जातले दलितले सिएको कपडा लगाएर, दलितले सिएको जुत्ता टल्काएर, दलितले बनाइ दिएका भाँडा वर्तनमा खाना खाएर उल्टो दलितमाथि नै विभेद ग-यो । दलितले बनाएका घरमा बसेर दलितलाई नै बाहिर राख्यो । मन्दिर बनाउन लगायो तर आफैले बनाएको मन्दिरमा दलितलाई पस्न दिएन । घर बनाउनलगायो तर आफैले बनाएको घरको दैला भित्र दलितले चियाउन पाएन । धारा बनायो, आफैले पानीखान पाएन । मेरा पुर्खाले दलितमाथि गरेको व्यवहारमा मेरो भित्रीब्रह्रमले न्याय देख्दैन भने म कसरी पुर्खा प्रतिगर्व गर्न सक्छू र ? अब आफ्नै पुर्खामाथि गर्व नगर्ने सन्तानलाई सायद ‘कुलङ्घार’ भनिन्छ होला । यस अर्थमा मलाई कसैले ‘कुलङ्घार’ भन्छ भने पनि म त्यसलाई खुसीसाथ स्वीकार्न सक्छु । श्रम र शिल्पीकामहान् खानी दलितमाथि मेरा सयौं वर्षदेखिका पुर्खाहरूले गरेको शोषणले मलाई लज्जित तुल्याएको छ । म मेरा दलित साथीहरूसँग मेरा पुर्खाले तिमी माथि युगौंदेखि गरेको अन्याय र विभेदका लागि शिर निहुराएर क्षमामाग्न चाहन्छु ।

निष्कर्ष-अहिलेसम्म दलितको मुद्दा खालि गफको मात्रै र सिद्धान्तको मात्रै भयो । अब व्यवहार परिवर्तनका अभियानहरू सामुहिक स्तरमा चलाउनुपर्छ । सामाजिक नेतृत्व गर्नेहरूले आफ्नै सोच र व्यवहारमा परिवर्तन ल्याएर देखाउनुपर्छ । दलितका विरुद्ध दलितले मात्रबोल्ने होइन, हामी जस्ता गैरदलितहरूले पनि बोल्नुपर्छ । नेपालको दलित मुक्तिको आन्दोलनले अलि ठूलै सामाजिक क्रान्ति पर्खिरहेको छ, जहाँ कुरा होइन, व्यवहारमा समानता भएको अनुभव गर्न सकियोस् । क्रान्तिले यस्तो समाज निर्माण गरोस्, जहाँ हामीजस्ता शिक्षित कहलाइएकाहरूले आफ्ना छोराछोरीको बिहे खुलारूपमा गर्वका साथकुनै हीनताबोध विना दलितसँग गर्न सकियोस् । दलितका सन्तानलाई विना हिच्किचाहट घर भित्रयाउन सकियोस् । दलितहरूको सीप र कर्मको उच्च प्रशंसा गर्ने विमर्शहरू स्थापित बनून् । दलितहरूले ‘म पनि मान्छे हुँ’ भनेर आफूलाई मान्छेको रूपमा हेर्न सकून् । म र हामीजस्ता ब्रह्माण टोपलिएका मूलभान्सामा दलित साथीलाई गर्वका साथ खानाखुवाउन सक्ने वातावरण बनोस् । मन्दिरमा सँगै गएको मेरो दलित साथीले मनमा विभेदको एक रति पनि अनुभव नगरी आफ्नो मनको ईश्वर पुज्न पाओस् ।