आदिवासी र निकुञ्जबीचको द्वन्द्व

प्रकाशित मिति:

अनोज थारु, बर्दिया

बर्दिया ठाकुरबाबा नगरपालिका–२ कर्मला गाँउकी लक्ष्मी चौधरीको घरमा बास नभएको झन्डै १० बर्ष बितेको छ । घरमा सुत्ने ठाउँ नभएर बास नभएको होइन । कर्मलामा उनका सानो चिटिक्क परेको थारु संस्कृति झल्कने घर र अन्य सामानहरु पनि छन् । तर, नजिकै बर्दिया राष्टिय निकुञ्ज रहेको हुँदा जंगली जनावरको डरले उनी त्यहाँ बास बस्न नसकेकी हुन् । दिनभरी आफनो काम ग¥यो, सुत्नका लागि भने बजार क्षेत्रमा रहेको छोरीको घरमा उनी जाने गर्छिन् । यस्तो दैनिकी बितेको पनि १० बर्ष भएको उनको अनुभव छ । २०४६ साल तिर कर्मला क्षेत्रमा जंगली हात्ति पसेर घर तथा अन्न बाली नष्ट गरे पछि लक्ष्मीलाईं सधै जंगली जनावरको डर लागि रहन्छ । ‘त्यसपछि यो घरमा हामी सुतेका छैनौ ।’ लक्ष्मीले अगाडि भनिन् ‘पुरानो कुरा सम्झेर छोरा छोरीहरु मलाई घरमा बस्न दिदैनन । म साँझ जंगली जनवारको डरले बजारमा छोरीको घर सुत्न जान्छु अनि बिहान ५ बजे फेरी कर्मला आउने गर्छु ।’

खेती सबै नष्ट
लक्ष्मी चौधरी एक प्रतिनिध पात्र मात्र हुन् । कर्मला क्षेत्रमा बसोबास गर्ने प्राय सबै थारु समूदायको दिनचर्या यस्तै छ । कर्मला क्षेत्र मात्र नभएर बर्दिया राष्टिय निकुञ्वज आसपासका मानबबस्ती तथा मध्यवर्ती क्षेत्रकासबै स्थानीयबासिन्दाले बर्षौदेखि यस्तै त्रासमा दिन बिताउनु परेको छ । कर्मला मध्यबर्ती सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष धनिराम चौधरीको दुखेसो पनि लक्ष्मीको भन्दा फरक छैन । भन्छन्–‘यहाँका स्थानीयले हिउदे बाली खाना नपाएको धेरै भयो । गत बर्ष १५ कठ्ठामा छरेको गहुँ ४÷५ के.जी मात्र घर लान पाइयो होला । आलु त घरमै आएर खान्छ बँदेलले ।’
जनवारले बाली खाए पछि यहाँका किसानहरु बाली लगाउन नै छोडेको उनको भनाई छ । भएको आफनो कृषि भूमिलाई उव्जाउँ गर्नु भन्दा अन्यत्र रोजगारी खोज्नु उचित हो भनेर धेरै किसानहरु अन्यत्र बसाईसराई तथा बैदेशिक रोजगारमा गएको धनीरामले बताए ।

मानवीय क्षती
बर्दिया राष्टिय निकुञ्जमा रहेका जंगली जनवारले बालीनाली मात्रै नष्ट नगरेर मानवीय क्षती समेत गराएको स्थानीयको भनाई छ । ‘हाम्रो गाँउमा हात्तिले यस बर्ष मात्र तीन मानबीय क्षती गराएको छ । भर्खरै (गत महिना) मात्र बिसराम बादीको छोरालाई गहुँबारीमा हात्तिले आक्रमण गरी ज्यान लिएको थियो । प्रहरी स्थानीयबासीले हात्ती धपाए पछि अरु क्षती हुन पाएन ।’ कर्मला गाँउका टंकप्रसाद कंँडेलले सुनाए । ‘बर्दिया राष्ट्रिय निकुन्जका जंंगली जनवारबाट मृत्यु हुनेको संख्या दुईदर्जन भन्दा बढी छ । त्यस मध्ये पनि सबैभन्दा बढी थारु सामुदायका पुरुषहरु हात्तीको आक्रमणमा परेर मरेका छन् ।’ निकुञ्जको अभिलेख्अनुसार हात्ती, गैंडा र बाघको आक्रमणबमाट दुईदर्जन भन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ । बर्दिया राष्ट्रिय निकुन्जका निमित्त प्रमुख अशोक भण्डारी यसलाई पुष्टी गर्दै भन्छन्–‘जंगली जनावरको आक्रमणमा थारु समुदायका पुरुषहरु परेका छन् । निकुन्ज वरीपरी र मध्यवर्ती क्षेत्रमा थारु समुदायको बसोबास भएका कारण पनि यस्तो घटना भएको हुन सक्छ ।’राष्टिय निकुन्ज र स्थानीय बासिन्दा बीचको द्वन्द्व बर्षेदेखि चल्दै आएको छ । सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रुपमा स्थापित यस निकुञ्ज पछि बर्दिया राष्ट्रिय निकुञ्जमा रुपान्तरण गरिएको थियो । २०४५ सालमा बर्दिया राष्टिय निकुञ्ज घोषणा भए पछि यस क्षेत्रमा मानवीय गतिविधिलाई नियन्त्रण गरिएको छ । यसको मध्यवर्ती क्षेत्र भने २०५३ सालमा मात्र घोषणा गरिएको हो । यस निकुञ्जमा एकसिंगे गैडा, चितुवा, पाटे बाघ, हात्ती , घोडगधा, जरायो, लगुना, बाह्रसिंंगालगायत ५६ प्रजातिका बन्यजन्तु रहेका छन् । यही निकुञ्जमा घडियाल, गोही,साँस लगायतका जलचर जीव पनि संरक्षित छन् । तर निकुन्ज प्रशासन तथा सरकारी अधिकारीहरु जति जंगली जनावर र जीवको पक्षमा छन्, त्यति मानबको पक्षमा छैनन् । स्थानीय बासिन्दाको अनुभवमा मान्छे भन्दा उनीहरु जंगली जनावरलाई बढी प्राथामिकता दिन्छन् ।

मानवको मूल्य छैन
‘अहिलेसम्म निकुञ्ज प्रशासन मानवीय क्षती प्रति त्यति संबेदनशील भएको पाइदैन । तर वन्यजन्तु क्षति प्रति भने असहिष्णु बनेको छ ।’ कर्मलाकै स्थानीय बासिन्दा ओमप्रकाश कँंडेलको भनाईमा निकुन्जले मानवको ज्यान गयो भने कुनै वास्था गर्दैन, तर जंगली जनवारको क्षती भयो भने कडा कानुन लादेर स्थानीयबासीलाई दुख दिने गरेको छ । कंँडेल थप्छन् –‘बाटोमा एउटा चित्तल म¥यो भने निकुञ्जका मान्छे दुई मिनेटमा पुग्छन्, तर त्यही जंगली जनावरको आक्रमणमा मान्छे मर्दा १० घण्टामा पनि उनीहरु आउँदैनन् । हामीले चक्काजाम गरेपछि मात्रै उनीहरुको ध्यानाकर्षण हुन्छ । यसैले उनीहरुलाई त जंगली जनवारसंग माया छ जनतासंग छैन जस्तो लाग्छ हामीलाई ।’

राहत र क्षतीपुर्ती सून्य
त्यसो त नेपाल सरकारले २०६९ सालमा राहत र क्षतीपुर्ती सम्बन्धी निर्देशिका जारी गरी कार्यन्वयनमा ल्याएको छ । तर यो निर्देशिका अनुसार निकुन्जले अझैसम्म राहत तथा क्षतीपुर्ती कसैलाई दिएको छैन । बर्दिया राष्ट्रिय निकुन्जका निमित्त प्रमुख अशोक भण्डारी भने यस्तो राहत चाडै दिने बताए । ‘निकुन्जले यस्तो मानवीय क्षती रोक्नका लागि बिभिन्न प्रयास गरेको छ । बिद्युतीय तार, वालहरु बनाउने गरेका छौ । त्यति गर्दा गर्दै नोक्सानी गरेपछि राहतको ब्यवस्था पनि छ । तर यसपालि अलि ढिलो भएकोले समयमा दिन सकेका छैनौ अव चाडै दिने छौ ।’
बर्दिया राष्ट्रिय निकुन्जमा जनवारको संख्या बढी रहेको जानकारी दिदै भण्डारीले बन्यजन्तुहरुले स्थानीयबासीहरुलाई दुःख दिएको भएता पनि निकुञ्जले स्थानीयबासीलाई अवसर पनि दिएको दावी गरे । ‘धेरैलाई रोजगारीको सिर्जना पनि गरेकोे छ । आर्यआर्जनमा पनि टेवा दिएको छ ।’ भण्डारीको भनाई थियो ।यो निकुञ्ज ४५ सालमा बनेको भए पनि यस भन्दा अगाडि यो जंगललाई कसले हुर्काएको थियो भन्ने सन्दर्भमा भने उनले कुनै जवाफ दिएनन् । बास्तवमा बर्दिया राष्टिय निकुञ्ज जस्ता जंगलहरुको संरक्षक आदिवासी थारुहरु थिए । थारु आदिवाुसीको आस्था, बिश्वास र उनीहरुको जीवनशैलीका कारण यस प्रकारका जंगल संरक्षित भएका हुन् । अहिले आदिवासी थारु र जंगलबीचको नाता टुटेको कारण यस प्रकारका द्वन्द्व भएका हुन् । यदी नेपालले अन्तराष्टय क्षेत्रमा प्रतिबद्धता व्यक्त गरेको र अनुमोदन समेत भएको अन्तराष्टिय श्रम संगठनको महासन्धी संख्या १६९ र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्टसंघीय घोषणापत्र अनुसार पूर्बवत आदिवासीलाई नै स्वामित्व दिएमा यस प्रकारको द्वन्द्व न्युन हुने बिश्वास गरिन्छ ।
(साभारः इन्डिजिनियस फिचर सेवा)