१८ गतेको बैठकमा माधव नेपाल पक्ष नआउनु अनुचित हुन्छ : विष्णु पौडेल

प्रकाशित मिति:

१६ असार, काठमाडौं । नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले आगामी केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।बालुवाटारमा बुधबार बसेको बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्र्दै एकता पूर्वको केन्द्रीय कमिटी ब्युँताएको छ । त्यसको बैठक शुक्रबार १८ गते बोलाइएको छ । उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले यो बैठकमा नेपाल पक्षीय नेताहरु बैठकमा नआउनु अनुचित हुने पनि बताए ।

 

‘आजका मितिदेखि कारबाहीका प्रसंग सकियो,’ उनले भने, ‘नेकपाभन्दा अगाडिको पदीय हैसियतका साथ बैठकमा सहभागी हुन आव्हान गरिसकेपछि बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । म आशा गर्छु उहाँहरु आउनुहुनेछ ।’उनले अन्तरविरोधहरुलाई पार्टीको दायरामा फर्काउनुपर्ने र पार्टीभित्रै बसेर समाधान खोज्नुपर्ने बताए ।

आगामी दिनमा पार्टी, पार्टी निर्णयको आधारमा चल्ने सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको पौडेलले बताए । ‘पार्टीलाई एकतावद्ध गरेर लिएर जान सकुँ भन्ने हिसाबले प्रधानमन्त्रीले धेरै ठूलो पीडा सहेर पनि संवाद, सहकार्य र एकताको प्रयास गरिरहनुभएको छ,’ उनले भने ।