नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र, राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताएका छन् ।विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिका विरुद्ध संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्ट्रको रक्षाका लागि ५ दलीय गठबन्धन बनेको स्पष्ट पारे ।
नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा उनले ओली प्रवृत्ति विरुद्ध एकजुट हुन पनि सबैलाई आव्हान गरे । उनले भने, “ लोकतन्त्र,राष्ट्र,संविधानको निम्ति अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो । त्यसका विरुद्ध हामी छौ । ओलीका विरुद्ध जाने हदसम्म तपाईहरुसंग हो हामी तर तपाईहरु भित्र पनि हामीले ओली देखेका छौ हामीले । त्यसैले धेरै आशा छैन तर अहिलेको मुख्य समस्या ओली भएकाले त्यहाँ सम्म हामी संगै छौ भन्ने ठान्छु । हाम्रो कार्यगत एकता भयो । हामीले राम्रोसंग आत्मसाथ गर्दा यो छलफल क्रिटिकल ढंगले अघि बढेकाले यो बढी फलदायी हुन्छ भन्ने मैले महसुस गर्छु । ”
राजनीतिक दलका नेताहरु समस्या पर्दा जनतामाझ आउने र सत्तामा पुगेपछि जनजीविकाका सवाल विर्सने गर्दछन् भन्ने सञ्चारकर्मीको आरोपमा उनले सबै नेताहरु उस्तै नभएको दाबी गरे ।कम्युनिष्ट पार्टी एकीकरणका बेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकको रुपमा देखा परेको टिप्पणी गरे । उनले विश्वभरका कम्युनिष्ट पार्टीहरूमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताए ।