आजदेखि आन्तरिक उडान खुला, दैनिक ६७ वटा उडानको अनुमति

प्रकाशित मिति:

काठमाडौँ — दुई महिनाभन्दा बढी बन्द भएको आन्तरिक उडान आजदेखि सञ्चलानमा आएको छ । कोरोना भाइरसको दोस्रो लहरपछि वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान ६९औँ दिनमा सञ्चालन आएको हो । मन्त्रिपरिषद्‌को असार ७ को निर्णयानुसार आन्तरिक उडानका लागि चारवटा वायुसेवाका दैनिक ६७ उडानलाई अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । उडानका लागि बिहान साढे ६ देखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ । संक्रमणको जोखिम नटरेकाले जहाज कम्पनीलाई १० मिनेटको अन्तरालमा उडान गर्न, प्रत्येक उडानसँगै जहाज स्यानिटाइज गर्नु पर्ने, यात्रुको लगेजसमेत स्यानिटाइज गरी विगतका मापदण्डलाई पालना गर्न भनिएको छ ।

संक्रमण घट्दै गए तथा यात्रुको चाप बढेमा हाललाई दिइएको ५० प्रतिशत उडान अनुमति बढाउन सकिने सरकारी पक्षले जनाएको छ ।