चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा

प्रकाशित मिति:

काठमाडौं । चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको छ । कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा जिनपिङले समाजवादले मात्र चीनलाई बचाउन सक्ने बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी चीनको विकासको कहानीको केन्द्रमा रहेको बताए । साथै उनले कम्युनिस्ट पार्टीबाट मानिसहरुलाई अलग गर्ने प्रयास असफल हुने बताएका छन् । टियानान्मेनमा पार्टीको एक सय वर्षगाँठ मनाउन करीब ७० हजार मानिसहरु उपस्थित भएका थिए । त्यहाँ सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । उनीहरु कसैले पनि मास्क लगाएका थिएनन् ।

बिहीबार बिहान आयोजना गरिएको उक्त कार्यक्रममा फाइटर जेट विमान र युद्धपोतको प्रदर्शन गरिएको थियो भने राष्ट्रवादी गीत बजाइएको थियो । पछिल्लो केही सातायता चीनको कम्युनिस्ट पार्टीले अनुमोदन गरेको चीनको इतिहासलाई बढावा दिने गरी चिनियाँ सञ्चारमाध्यमहरुले पनि प्रचार गरिरहेका छन् । कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।लामो समयको गृहयुद्धपछि कम्युनिष्ट पार्टी ७२ वर्षअघि सत्तामा आएको थियो । त्यसयता चीनमा निकै ठूलो परिवर्तनहरु भएका छन् । यद्यपि अहिले चिनियाँ कम्युनिस्ट पार्टीले अनुमोदन गरेको इतिहासमा भने त्यसमध्येका केही घटनाहरु लुकाइएको छ ।जसमध्ये चीनको सांस्कृतिक क्रान्ति, सन् १९८९ टियानान्मेन स्वायर आन्दोलन र हङकङको प्रजातन्त्रवादी आन्दोलनलगायतका घटनाहरु छन् ।

चीनमा गत अप्रिलयता सिनेमा हलमा साताको दुई दिन चीनको इतिहास समेटिएको फिल्म लगाउन निर्देशन दिइएको छ ।यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीको वर्षगाँठको अवसरमा एक सय टेलिभिजन नाटक यस वर्षभरमा प्रदर्शन हुनेछ ।चीनको केही स्थानहरु पार्टीको लागि ऐतिहासिक रुपमा निकै महत्वपूर्ण छन् । जसमध्येको एउटा यानान शहरको क्रान्तिको आधार शिवर पनि हो । पछिल्लो समय यो क्षेत्रमा भ्रमण गर्न जाने मानिसको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।हङकङ चीनलाई हस्तान्तरण गरिएको पनि २४ वर्ष पूरा भएको छ । बेलायतको उपनिवेशबाट मुक्त भएको हङकङ चीनलाई सन् १९९७ मा हस्तान्तण गरिएको थियो । हङकङमा वार्षिक रुपमा हस्तान्तरणको वर्षगाँठको उत्सव मनाइँदै आएको छ ।यद्यपि हङकङमा समयसमयमा चीनविरोधी प्रदर्शन हुँदै आएको छ । चीनले गत वर्ष राष्ट्रिय सुरक्षा कानून ल्याउँदै विरोधी स्वरमा अंकुश लगाएको छ । एजेन्सीहरुको सहयोगमा