नवलपरासी प्रहरीको एक बर्षे उपलब्धी : पुजारी हत्याकाण्डका नाइके सहित ५५ फरार अपराधी पक्राउ, ७ करोड राजस्व दाखिला

प्रकाशित मिति:

‘म कसैको दबाब र प्रभावमा परिन, कुनैपनि अपराधीलाई उन्मुक्ति दिईन’–एसपी अजय केसी

भरत प्रधान- १६ असार । नवलपरासी प्रहरी प्रमुखको रुपमा १३ महिना नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक अजय केसीको कार्यकालमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ५५ जना फरार अपराधी पक्राउ गर्न सफल भएको छ भने ७ करोड राजस्व दाखिला गर्न सफल भएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार सो अवधिमा ३४ वर्षदेखि फरार रहेका एक अभियुक्त सहित बिभिन्न अपराधमा सम्लग्न ५५ जना अपराधिलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ गरिएका ती अभियुक्तहरुलाई अपराधमा संलग्न मुद्धाका आधारमा कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । जिउ मास्ने बेच्ने मुद्धाका फरार अभियुक्त सुनवल नगरपालिका–१२ भूमहीका ७६ वर्षीय पदमदत्त सापकोटालाई गत कात्तिकमा पक्राउ गरि कारगार चलान गरिएको प्रहरी नायब उपरीक्षक लामाले बताए ।  यस्तै सो अवधिमा कार्यालयले बहुचर्चित पुजारी हत्या काण्डको सफल अप्रेसन गरेर घटनामा सम्लग्न भारतीय नागरिकलाई समेत पक्राउ गर्न सफल भयो । गत कात्तिकमा जिल्लाको सुस्ता गांउपालिका–४ पश्चिम टांडी स्थित हनुमान मन्दिरका ७२ बर्षीय पुजारी महंगु केवटको धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । हत्याकाण्डको अनुसन्धान गर्दै जांदा उक्त घटनामा सम्लग्न भारतको महाराजगञ्ज जिल्ला ग्राम कबेलवा महेशपुरका २१ बर्षीय धनञ्जय मौर्यलाई पक्राउ गरि कर्तब्य ज्यान मुद्धामा कारगार चलान गरिएको प्रहरी उपरीक्षक अजय केसीले बताए । पुजारी हत्याकाण्डको सफल अनुसन्धान गरि अभियुक्तको सार्वजनिक गरेका केसीको त्यसबेला चौतर्फी प्रशंसा समेत भएको थियो ।

१३ महिना बढी जिल्लाको कमाण्ड सम्हालेका एसपी केसीले जिल्लाको समग्र शान्ति सुरक्षा मजबुद बनाएका थिए भने सो अन्तरालमा झण्डै ७ करोड राजस्व दाखिला गर्न सफल भए । सो अवधिमा जिल्लाका बिभिन्न स्थानबाट ६ करोड ६९ लाख ५७ हजार ५ सय ८३ मूल्य बराबरको भन्सार छली नेपाल भित्र्याईएका हरियो केराउ, मरिच, छोडा, खाद, लत्ताकपडा, मोबाईल, बिद्युतीय सामाग्री, सवारी साधनका पार्टपुर्जा लगायतका अवैध मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय चलान गरिएको सुचना अधिकारी लामाले जानकारी दिए । जिल्लाको बिभिन्न स्थानबाट ३ लाख २३ हजार ८ सय ४० मूल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन बन कार्यालयमा बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले बताए । यस्तै जिल्लाका बिभिन्न नदि तथा खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन्मा संलग्न १ सय वटा ट्रयाक्टर, ३ वटा टिपर र २ वटा स्काभेटर समेत गरी जम्मा १ सय ५ वटा सवारी साधन पक्राउ गरी सम्बन्धीत स्थानीय तहमा बुझाईएको र सो बाट प्राप्त भएको २६ लाख ८१ हजार ७ सय १२ रुपैयां राजश्व सहित सो अवधिमा कुल ६ करोड ९९ लाख ६३ हजार १ सय ३५ रुपैयां बराबरको राजश्व दाखिला भएको डिएसपी लामाले बताए ।

लामाका अनुसार चालु आर्थिक बर्ष ०७७÷०७८ को जेठ मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालयमा ३२ वटा लागुऔषध कारोबार सम्बन्धी मुद्धा दर्ता भएको छ । सोही अवधिमा प्रहरीले गाँजा २ केजी ९० ग्राम ४८२ मिलिग्राम, डाईजोपाम १८२६ एम्पुल, नुर्फिन १८४६ एम्पुल, फेनार्गन १७७४ एम्पुल, नाईट्रोभेट २४३८ ट्याव्लेट, स्पास्मो ३२९६ एम्पुल, फेन्सिडिल ८६०० एम.एल र ओनेरेक्स १६१०० एमएल लगायतका लागुऔषध सहित सो कारोबारमा सम्लग्न ब्यक्तिलाई पक्राउ गर्न सफल भएको डिएसपी लामाले बताए । उक्त लागुऔषध कारोबारमा सम्लग्न ४३ जना नेपाली पुरुष र ४ जना विदेशी पुरुष गरी जम्मा ४७ जनालाई पक्राउ गरी कानून बमोजिम कारवाही गरिएको उनले बताए । यस्तै सवारी दुर्घटना मध्येका ४ ठूला दुर्घटनाका फरार अभियुक्तलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न सफल भएका केसीको सो कार्यलाई स्थानीयले प्रशंसा समेत गरेका थिए ।

कोरोना महामारीका बिच जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न सफल भएका केसीले जिल्लामा रहंदा हत्या, हिंसा, अपराध, चोरी डकैती, सिमा नाकाबाट हुने तस्करी र लागुऔषध ओसारपसार नियन्त्रण लगायत जिल्लाको समग्र शान्ति सुरक्षामा खरो सुरक्षा रणनीति अपनाएका थिए । भारत संगको खुला सिमाका कारण सुरक्षा संवेदनशीलता र चुनौतीलाई ध्यानमा राखेर केसीले सिमा नाकाको सुरक्षा ब्यबस्था समेत कडा पारेका थिए । एसपी केसीले सिमावर्ती क्षेत्रमा तीब्र निगरानी बढाएका थिए भने तस्कर र अपराधीक समूह माथी कडा एक्सन लिएका थिए ।संभावित चोरी, डकैती र अपराधजन्य घटनालाई मध्यनजर गर्दै सो रोकथाम र नियन्त्रणका लागि प्रहरी परिचालन, मोबाईल गस्ती, पट्रोलिङ, चेकिङ लगायतका गतिबिधिलाई उच्च प्राथमिकतामा राखेर काम गरेका केसीले जिल्ला मातहत रहेका युनिट इन्चार्ज र प्रहरी कर्मचारीहरुलाई उच्च मनोबलका साथ प्रहरीको आचरण र नैतिकतामा रहेर काम गर्न निर्देशन समेत दिएका थिए । जिल्लाको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखेर केसीले जिल्लाको बिभिन्न स्थानमा सिसिटिभी क्यामेरा समेत जडान गरेका थिए । जिल्लाको सरवालमा ५, ज्यामिरेमा ४ र रामग्राममा ३ गरि १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएको डिएसपी लामाले जानकारी दिए । यस्तै ज्यामिरेमा नाईट भिजन पोष्ट समेत खडा गरिएको उनले बताए ।

गुण्डागर्डी, तस्कर र बिचौलीयालाई आफ्नो कार्यालय प्रबेशमा निषेध ‘नो ईन्त्री’ को नीति अवलम्बन गरेका केसीले अपराधिक गतिविधिमा संम्लग्नलाई कानुनी दायरामा ल्याई आम नागरिकमा शान्ति, सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन सफल भए । अपराध अनुसन्धानमा अब्बल र काबिल प्रहरी अधीकृतको छबी बनाएका केसी संगठनका एक ब्यबसायीक र ईमान्दार प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । काम र एक्सनमा बिश्वास गर्ने उनी प्रचार–प्रसार र मिडीयामा भने कमै मात्रमा छाउछन् ।जिल्ला प्रहरी प्रमुखको रुपमा कार्यरत रहंदा आफूले मूलतः ३ वटा बिषयलाई बिशेष प्राथमिकता दिएर काम गरेको एसपी केसीले बताए । केसीका अनुसार पहिलो अपराध नियन्त्रण र अनुसन्धान, दोश्रो तस्करी र चोरी निकासीको नियन्त्रण र तेश्रो जनचाहना अनुरुपको प्रहरी सेवा । हामीले बिशेषतः प्रहरीले नागरिकलाई राम्रो, असल र शिष्ट ब्यबहार सहितको सेवा प्रदान गर्ने, प्रहरीको ब्यबहार र आचरणलाई सुधार गरि आधुनिक पुलिसिङको प्रत्याभुति दिने र डायनामिक पुलिसिङलाई जोड दिएर सकेसम्म राम्रो काम गर्ने प्रयास ग¥र्यौ – केसीले भने । नागरिक स्तरबाट आएका गुनासो र समस्यालाई यथोचित ढंगले सुनुवाई गर्ने, हत्या हिंसा र अपराधमा सम्लग्नलाई ‘अन द स्पोट्र्’ एक्सन लिएर कार्वाही अगाडी बढाउने योजनाका साथ आफ्नो टिमले काम गरेको उनले बताए ।

एसपी केसीले जिल्लामा रहंदा आफू कुनै पनि खालको ‘प्रलोभनमा नपरेको र कुनै पनि अपराधीलाई उन्मुक्ति नदिएको दाबी गरे । “म कसैको दबाब र प्रभावमा परिन ।, ‘मलाई कसैले पनि कुनै खालको दबाब पनि दिएनन् ।, नवलपरासीका राजनीतिक दल, बुद्धिजिवी, नागरिक समाज, सञ्चारकर्मी र आम सर्वसाधारणबाट समेत मैले राम्रो सहयोग पाए । तर, कोरोना महामारीका कारण मैले सोंचे जस्तो काम भने गर्न नसकेको अनुभूत गरेको छु, – केसीले भने ।”आफू मातहत रहेका अन्य प्रहरी अधिकृत, युनिट इन्चार्ज र सबै प्रहरी कर्मचारीले उच्च मनोबलका साथ काम गरकोे स्मरण गर्दै केसीले आफूले कुनै नयां र नौलो काम नगरेको प्रतिक्रिया दिए । “मैले कुनै नयां र नौलो काम गरेको होईन, संगठनले दिएको जिम्मेवारी र दायित्व पूरा गरेको हो– केसीले सहकर्मीहरुको प्रशंसा गर्दै भने ।”, हामीले टिम वर्कमा रहेर काम गरेकै कारण संगठनको निर्देशन, ब्यबसायीक मर्यादा र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सक्यौं ।” सरल, शालीन र मिजासीलो स्वभावका केसी सर्वसाधारण नागरिकका मनमा बस्न सफल भए भने बिदाई भएर जांदै गर्दा जिल्लाबासीबाट प्रशंसा समेत बटुले ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा प्रहरी नायब उपरीक्षकका रुपमा कार्यरत रहेका केसीले बिभिन्न खालका घटना र मुद्धाको सफल अनुसन्धान गर्न सफल भएका थिए । तत्कालीन नेपाल निर्माण ब्यबसायी महासंघका अध्यक्ष सरद कुमार गौचनको काठमाण्डौंमा भएको हत्याकाण्डको अनुसन्धानमा अपराध महाशाखाको टिमको नेतृत्व गरेका उनले हत्यामा सम्लग्न अभियुक्तको खोजी गरि पक्राउ गर्न समेत सफल भएका थिए । यस्तै अपराध महाशाखामा कार्यरत रहंदा केसीले क्षेत्रपाटीबाट भएको ६ बर्षीय बालक अपहरणको अनुसन्धानमा सफल भई अपहरण भएको ७२ घण्टा मै बालकको सकुशल उद्धार गरेका थिए । भने अपहरणमा संम्लग्न अभियुक्तहरुलाई रामेछाप, उदयपुर र काठमाण्डौं बाट पक्राउ गरिएको थियो ।यस्तै दोलखा जिल्लाको प्रहरी प्रमुखका रुपमा कार्यरत रहंदा समेत केसीले अपराध अनुसन्धान र जिल्लाको समग्र शान्ति सुरक्षामा उच्च सफलता हात पारेका थिए । २०७२ बैशाखमा दोलखामा गएको भुकम्पका कारण आपद्बिपद्मा परेकाहरुको उद्धार, राहत र सुरक्षा ब्यबस्थामा उनको नेतृत्वको टिमले कुशलतापूर्वक कार्य सम्पादन गरेको भन्दै तत्कालीन प्रहरी महानिरक्षक उपेन्द्रकान्त अर्यालले केसीको प्रशंसा समेत गरेका थिए ।

प्रहरी निरीक्षकका रुपमा कार्यरत रहंदा केसी प्रहरी प्रभाग थानकोटको प्रमुख र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अपराध अनुसन्धान तथा मुद्धा शाखामा रहेर काम गरे । यसअघि केसीले कर्मचारी प्रशासन शाखा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, स्पेशल टास्क फोर्स, लागु औषध नियन्त्रण ब्यूरो, अपराध अनुसन्धान बिभागको इन्टेलीजेन्ट ब्यूरो, अपराध महाशाखा टेकु, सुरक्षा प्रहरी गण सिंहदरबारको प्रमुख र केन्द्रीय साईबर ब्यूरोको अनुसन्धान अधिकृतका रुपमा समेत जिम्मेवारी सम्हाली सकेका छन् । यस्तै नेपाली सेनासंगको सहकार्यमा २ बर्षे सयुंक्त तालिममा सहभागी भएका केसी हाईटी कमिसन र सुडान मिसनमा समेत खटिएका थिए ।२०५८ मा प्रहरी निरीक्षकका रुपमा प्रहरी सेवामा प्रबेश गरेका केसीले जिल्ला प्रहरी कार्यालय दोलखाको प्रमुखका रुपमा कार्यरत रहंदा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै राष्ट्रपति बिद्यादेबी भण्डारीबाट ‘प्रबल जनसेवा श्री’ पदवीबाट बिभूषित समेत भएका थिए ।२०७७ बैशाख २४ गते नवलपरासी प्रहरी प्रमुखको रुपमा कमाण्ड सम्हाल्न जिल्ला आईपूगेका केसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले गत मंगलबार केसी सहित एकसाथ ५२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।