शुक्रबार बस्‍ने एमाले केन्द्रीय कमिटी बैठकमा खनाल–नेपाल पक्ष सहभागी नहुने

प्रकाशित मिति:

काठमाडौँ — नेकपा एमालेले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्ष सहभागी नहुने भएको छ । खनाल–नेपालसमूहको बिहीबार बुद्धनगरमा बसेको स्थायी कमिटी सदस्यको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

‘आपसी सहमतिको आधारमा नबोलाइको हुँदा शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय भयो,’ स्थायी कमिटी सदस्य रघुजी पन्तले भने ।यद्यपी बुधबार साँझ संस्थापन पक्षसँग अनौपचारिक वार्तामा बसेका खनाल–नेपालसमूहका नेताहरुले शुक्रबारको बैठक स्थगित गरेर एकताका लागि सहमति खोज्ने प्रस्ताव गरेका थिए । सोही प्रस्तावमाथि छलफल गर्न बिहीबार साँझ पुनः वार्तामा जुटेका छन् ।

एमालेको संस्थापन पक्षले बुधबार दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । खनाल–नेपालपक्ष भने जेठ २ मा कायम नवौं महाधिवेशन आयोजक कमिटीबाट निर्वाचित कमिटीबाट पार्टी सञ्चालन हुनुपर्ने अडान राख्दै आएको छ ।