दुई महिना बाट प्रसारणमा रोकिएको ‘सक्किगोनी’ बिहिबार देखि आउँदै

प्रकाशित मिति:

निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय टेलिसिरियलहरूले आफ्नो नियमित प्रसारण सुरु गरेका छन् । निषेधाज्ञाले रोकिएका टेलिसिरियल ‘हर्के हल्दार’, ‘जुठे’ले नियमित प्रसारण सुरु गरिसकेका छन् । हास्य टेलिसिरियल ‘सक्किगोनी’ बिहीबारदेखि प्रसारणमा आउँदैछ । निषेधाज्ञा सुरु भएसँगै छायांकन रोकिँदा दुई महिना टेलिसिरियलको प्रसारण रोकिएको थियो ।

बिहीबारदेखि नयाँ कथामा प्रसारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले जानकारी दिए ।निषेधाज्ञा खुकुलो भएसँगै छायांकन गरेर नयाँ भाग प्रसारणमा ल्याउन लागिएको हो । ‘सक्किगोनी’ हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ । कुमार र अर्जुन घिमिरेको लेखन एवं निर्देशन रहेको टेलिसिरियलमा यी दुईका साथमा सागर लम्साल, हरि निरौला, दीपक आचार्य, कमलमणि नेपाल, गोविन्द कोइराला, रश्मी पाण्डे, प्रियाना आचार्य लगायतको अभिनय रहँदै आएको छ ।

टेलिसिरियललाई दर्शकले रुचाउँदै आएका छन् । निषेधाज्ञाले प्रसारण रोकिँदा दर्शकमा पर्न गएको असुविधाप्रति ‘सक्किगोनी’ टिमले क्षमा माग्दै आगामी दिनमा सल्लाह, सुझाव र मायाको अपेक्षा लिएको जनाएको छ ।