ओली र नेपालबीच टेलिफोन संवाद, भेटवार्ताको प्रयास

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । बिहीबार साँझ दुई नेताबीच वार्ता भएको एमाले पार्टी कार्यालायका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

“पार्टी अध्यक्ष आफैंले प्रयत्न गर्नुभएको हो । पार्टीलाई एकताबद्ध बनाउने कुरामा उहाँले निरन्तर प्रयास गरिरहनु भएको छ । अध्यक्षले पार्टी एकताको पक्षमा भूमिका निभाइरहनु भएको छ । फोन वार्ता सुरु भएको छ । भेटवार्ताको सम्भावना छ । भेटवार्तका लागि प्रयास भइरहेको छ,” उनले भने ।खनाल–नेपाल समूहको माग बमोजिम बैठक राखिएको र जेठ २ को केन्द्रीय कमिटीमा गइसकेपछि अड्को थाप्ने काम गर्न आवश्यक नरहेको उनको भनाइ छ ।

केन्द्रीय बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने उनले बताए । आजको बैठकमा खनाल–नेपाल समूहले नजाने निर्णय गरिसकेको छ । उक्त समूहका नेताहरु आजको बैठक सारेर सहमतिको आधारमा बैठक बोलाउन माग गरेका छन् । नेता सुरेन्द्र पाण्डेले आफूहरुले आजको बैठक सार्न प्रस्ताव राखेको जानकारी दिए ।