गोकर्ण विष्टको अर्काे सफलता – ‘श्रम स्वीकृतिका लागि अब लाइन बस्न नपर्ने’

प्रकाशित मिति:

काठमाडौँ, १६ मंसिर । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा श्रम स्वीकृतिका लागि अब लाइन बस्न नपर्ने भएको छ । वैदेशिक रोजगारीमा जानेहरूलाई सहज रूपमा श्रम स्वीकृति लिने वातावरण बनाउन ताहाचलस्थित कार्यालयले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको हो ।

टोकन प्रणालीबाटै नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिने कार्यालयले जानकारी दिएको छ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुनेछ ।

एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीअन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

तोकेको मिति र समयमा आए अब घण्टौं लाइनमा बस्न नपर्ने कार्यालयका प्रमुख युवराज खतिवडाको दाबी छ । यस्तो सेवाका लागि सेवाग्राही आफैले फाराम भर्न सक्नेछन् ।

पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ । त्यसैलाई व्यवस्थापन गर्ने गरी अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिन सुरु गरिएको कार्यालय प्रमुख खतिवडाले बताए ।

हाल कार्यालयमा सेवा लिन एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस)मा अनलाइन आवेदलन भर्नुपर्छ । तोकिएको समयमा तोकिएका सेवाग्राही मात्रै आउँदा एकैपटक कार्यालयमा भीड जम्मा नहुने अपेक्षा गरिएको छ । अनलाइन टोकन सुरु भएपछि बिचौलियाको चलखेल पनि घट्ने अपेक्षा विभागको छ ।

गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएपछि श्रम क्षेत्रमा सुधारका संकेत देखिदै आएका छन् । श्रमिकहरुको हितका लागि उनले सकारात्मक कदम चालेको भन्दै उनको प्रशंसा भइरहेको छ ।