सामाजिक सुरक्षा कोष विरुद्ध नबील बैंकका कर्मचारीले गरे आन्दोलन

प्रकाशित मिति:

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोष विरुद्ध आन्दोलन सुरु गरेका छन् । आन्दोलन चरणबद्ध रहने गरी पहिलो चरणमा बैंकिङ क्षेत्रका कर्मचारीहरुले कार्यालय अगाडि कालो ब्यानर टागेर विरोध प्रदर्शन गरेका हुन् । खाईपाई आएको सेवा सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै वित्तीय क्षेत्रका कर्मचारीहरु असन्तुष्ट बनेका हुन् । कोषले असार मसान्तभित्र आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् ।

नबील बैंक बुटवलका कर्मचारीले बिहिवार बिहान कार्यालय अगाडि उभिएर विद्यामान व्यवस्था संसोधन हुनुपर्ने माग गरेका थिए । उनीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने ब्यानर राखी प्रदर्शन समेत गरेको बुटवल स्थित नबील बैंकको संचालन शाखा प्रबन्धक अबरार अहमद खानले बताए । उनले पहिलो चरणको प्रदर्शन सकिएपनि संसोधन नभए पुन ः चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिए । आईएलओ अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टीभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकाले तथा खाइपाई आएको सेवासुविधा घट्ने र तीन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकाले आन्दोलनमा उत्रनु परेको कर्मचारी बताउंछन् ।