स्याङ्जामा दैवी प्रकोपबाट ६ को मृत्यु

प्रकाशित मिति:

स्याङ्जा- स्याङ्जामा असारको दुई सातामा ६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् । मनसुन शुरु भएयता दैवी प्रकोपबाट विभिन्न घट्नामा परेर आधा दर्जन नागरिकले ज्यान गुमाएका हुन् भने एक जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खोलाले बगाएर ४, भीरबाट लडेर १, चट्याङ् लागेर १ गरी ६ जनाले दुई सातामा ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । बाढी पहिरोका कारण १४ घरधुरीका ६८ जना विस्थापित भएका छन् भने ९७ घर पहिरोको जोखिममा हुँदा ५ सय ३३ जना नागरिक प्रभावित भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक(डिएसपी) राजेन्द्र अधिकारीका अनुसार आँधीखोला गाँउपालिका ६ का ६० बर्षिय घनश्याम शर्मा, पुतलीबजार नगरपालिका ४ का ५१ बर्षिय टेकबहादुर थापाको खोलाले बगाएर मृत्यु पश्चात सनाखत भएको बताए । अन्दाजी ३० बर्षिय र ४० बर्षिय पुरुष खोलाले बगाएर मृत अवस्थामा फेला परेपनि अहिले सम्म सनाखत हुन नसकेको प्रहरी प्रवक्ता अधिकारीले बताए । त्यसै गरी बाँदर धपाउने क्रममा पुतलीबजार नगरपालिका २ का ३५ बर्षिय तिलक कुँवरको भिरबाट लडेर मृत्यू भएको छ भने अर्जुनचौपारी गाँउपालिका २ का १५ बर्षिय रोहित कुँवरको चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गल्याङ नगरपालिका ४ का १८ बर्षिय सन्दिप न्यौपाने आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका छन् । उनको खोजीकार्य भएपनि अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । यस्तै विपद् घट्नामा बाटो हिड्दै गर्दा पहिरो आएर बगाउदा हरिनास गाँउपालिकाका ४८ बर्षिय कृष्ण थापा घाईते भएका छन् । उनको अवस्था सामान्य रहेको छ । मनसुन सुरुभए देखी जिल्ला प्रहरी कार्यालय मातहातमा रहेका सबै युनिटहरुलाई सचेत पुर्वक विपद्का लागि तैनाथ अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता अधिकारीले बताए । स्थानीयतह सगँ समन्वय गरी विपद्को सामना गर्न सबै युनिटलाई निर्देशन दिएका छौं प्रवक्ता अधिकारीले भने,‘सिमित साधन श्रोतको उच्चतम प्रयोग गरी विपद्मा खटेका छौं ।’ सबै नागरिकलाई सचेत पुर्वक रहन पनि अनुरोध गर्दै आएका छौ उनले भने ।

सिद्धार्थ राजमार्ग देखि ग्रामिण सडकहरुमा पनि बाढीले क्षती पु¥याएको छ । पहिरो जाने वित्तिकै डोजर प्रयोग गरी सडक खुलाउने व्यवस्था भएकाले आवागमनमा लामो समय अवरुद्ध भने हुन पाएको छैन । यस बिषयमा हरेक स्थानीय तहका साधान श्रोत देखी सडक विभागका साधनश्रोत परिचालन गर्ने गरी तयारी अवस्थामा रहेको बताइएको छ । मनसुन अझै सक्रिय हुने र यसबाट जनधनको क्षती सकेसम्म नहोस भन्ने हेतुले जिल्ला प्रशासन कार्यालय स्याङ्जा, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, ११ ओटै स्थानीयतहका जनप्रतिनिधिहरु उच्च सर्तकता साथ लाग्ने गरी कार्य योजना बनाएर अगाडी बढेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।