कालीगण्डकी डाइभर्सन परियोजनाको विरोधमा प्रदर्शन

प्रकाशित मिति:

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा कालीगण्डकी डाइभर्सन परियोजना कार्यालयको उद्घाटन गरेसँगै परियोजनाको विरोध भएको छ ।कालीगण्डकी सरोकार युवा समूहले काठमाडौँमा बिरोध प्रदर्शन गरेको हो । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना जनविरोधी, सभ्यताविरोधी भएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘कालीगण्डकी डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, ‘काली डाइभर्सन हुन दिँदैनौं’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए ।प्रदर्शनमा सहभागीले उक्त आयोजनाले कालीगण्डकीको अस्तित्वलाई पनि समाप्त पार्ने भएकाले विरोध गरिएको बताए ।

कालीगण्डकी डाइभर्सनलाई रोक्न गण्डकी प्रदेशले समेत माग गरिरहेको छ । साथै, सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुद्देश्यीय परियोजना रोक्न आदेशको माग गर्दै रिट निवेदन पनि दायर भएको छ ।