ट्राफिक प्रहरीले नै खोजेर फिर्ता गरिदियो हराएको मोबाइल

प्रकाशित मिति:

काठमाडौं । सामान्यतया मोबाइल हराउँदा समेत प्रहरीले खोज्ने कार्यमा सहयोग नगरेको गुनासो धेरैले गरिरहेका हुन्छन् । तर ट्राफिक प्रहरीले नै हराएको मोबाइल खोजेर फिर्ता गरिदिएको भन्दा तपाईंलाई पनि अचम्म लाग्न सक्छ । यो घटना कतै अन्यत्रको नभई नेपालकै हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने नुवाकोटकी सुस्मिता भण्डारीको मोबाइल शुक्रबार स्वयम्भूबाट लैनचौर जाने क्रममा हराएको थियो । त्यसपछि उनले आफ्नो रेड्मी नोट नाइन मोबाइल खसेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखामा निवेदन दिएकी थिइन् ।त्यसो त जनपद प्रहरीले समेत यस्ता निवेदन दर्ता गर्न आनाकानी गर्नेगरेको अवस्थामा ट्राफिक प्रहरीले निवेदन दर्ता गराउनु आफैँमा सुखद संयोग हो । निवेदन प्राप्त भएपछि ट्राफिक प्रहरी शाखाले खोज्नका लागि तत्काल सक्रियता देखायो ।

उक्त सडक क्षेत्रमा जडान गरिएका सीसीटिभी फुटेजहरू समेत प्रहरीले चेकजाँच गर्‍यो । नभन्दै उक्त मोबाइल प्रदेश –३–०२–०१० प ८०८० नम्बरको स्कुटर चालकले फेला पारेरको सीसीटिभी फुटेजमा देखियो । त्यसपछि ट्राफिक प्रहरीले स्कुटर चालकलाई कार्यालयमै उपस्थित गराएर सोधपुछ गरेको थियो ।स्कुटर चालकले उक्त फोन कोही कसैलाई जानकारी नगराई आफूखुसी राखेको अवस्थामा पाइएपछि अब उपरान्त यस्तो कार्य नगर्न सचेत गराउँदै ट्राफिक प्रहरीले मोबाइल फोन त्यसै दिन सुस्मितालाई फिर्ता गरिदिएको छ ।