नारायणगढ मुग्लिन सडक एकतर्फी खुल्यो

प्रकाशित मिति:

चितवन । पहिरो पन्छाएपछि तीनदिन पछि नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।सञ्चालनमा आएसँगै जाममा फसेका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ । यस सडकखण्डमा लगातार पहिरो गएपछि नारायणगढतर्फ आउने सवारीसाधनलाई मुग्लिनमा र मुग्लिनतर्फ जाने सवारी साधनलाई जुगेडीमा रोकिएको थियो ।

जिल्ला ट्राफिक कार्यालय , चितवनका अनुसार चारकिलो,पाँचकिलो,सेतिदोभान,घोप्टेभीर र कुरिनटारमा गएको पहिरोको कारण उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध बनेको थियो । सो अवधिमा आंशिक रुपमा एकतर्फी रुपमा खुलेपनि बिहान सवा ९ बजे यी स्थानहरूको पहिरो पन्छाएर एकतर्फी रुपमा ल्याउन सकिएको ट्राफिक प्रमुख भगवानराज थापाले जानकारी दिनुभयो ।सेती दोभानमा ठूलो पहिरो गएको र दासढुंगा नजिक ठूलो ढुंगा खसेकोले दुईतर्फी खुल्न अझै समय लाग्ने थापाले बताउनु भयो । ‘एकतर्फी त सञ्चालनमा ल्याएका छौँ थापाले भन्नुभयो , दुईतर्फी सञ्चालनमा आउन त एकहप्तानै लाग्ला ।’

उहाँका अनुसार सेती दोभानमा पहाड नै खसेकोले सबै पहिरो पन्छाएर सञ्चालनमा आउन समय लाग्ने भएको हो । दासढुंगा नजिक रहेको ठूलो ढुंगा भने फुटाउने काम भइरहेको उनले बताउनु भयो । हाल अत्यावश्यक काम र विवाह कार्यक्रमका सवारीसाधन गन्तव्य तर्फ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।सवारीको अत्यधिक चाप बढेकोले ट्राफिक प्रहरीले चालकलाई आफ्नो लेन अनुसार र ट्राफिक सङ्केतको पालना गरी सवारी साधन सञ्चालन गर्न अनुरोध गरेको छ ।@radionepal