स्याङ्जास् गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै प्रदेश सरकारले प्रदेशबासीलाई कोभिड विरुद्धको निशुल्क खोप उपलब्ध गराउने तयारीमा जुटेको बताएका छन् ।स्याङ्जाको आँधीखोला गाउँपालिका ५ सेतीदोभानस्थित आँधीखोला अस्पताल भवनको शनिवार शिलान्यासपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री नेपालीले भने ‘अघिल्ला सरकारका योजनालाई निरन्तरता दिँदै सबै जिल्लामा २५ शैय्याको अस्पताल र २ देखि ५ शैय्याका सघन कक्ष निर्माण गरिनेछ।’
सरकारको जिम्मा कार्यक्रम अन्तर्गत स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने, स्थानीय तहसँगको साझेदारीमा शिशु, बालबालिका, किशोरी, अपांगता भएका व्यक्ति र गर्भवतिको पोषण, ६५ वर्षमाथिका नागरिकको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको पनि उनले बताए।उनले भने, ‘अघिल्ला सरकारका बहुवर्षीय योजनामा धेरै रकम बिनियोजन भैसकेकाले जनचाहना र अपेक्षा अनुरुप बजेट उपलब्ध गराउन कठिन छ। सबैका योगदानले व्यवस्था परिवर्तन सम्भव भयो। सबैका आस्था र बिचारलाई सम्मान र स्वीकार गरेर अघि बढन सक्नुपर्छ ।’आँधीखोला विकास तथा वातावरण स्वच्छता समूह ९गार्डेन० नामक स्थानीय संस्थाले दुई पटकसम्म महायज्ञ लगाएर र विभिन्न दाताहरुसँग चन्दा संकलन गरी अस्पताल निर्माण गरेका हुन् । माथिल्लो भेगका बासिन्दालाई लक्षित गर्दै १५ शैय्याका सुविधासम्पन्न भवन निर्माण गरी स्वास्थ्य सेवा उपलब्ध हुँदैआएको थियो।
पछिल्लो समय आँधीखोला गाउँपालिकाले सो भवनलाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्दैआएको छ। करिब २ वर्षअघि गाउँपालिकालाई अस्पताल हस्तान्तरण भएको थियो।शनिबार शिलान्यास भएको भवन करिब ८ करोडको लागतमा बन्ने भएको छ। गाउँपालिकाबासीलाई पायक पर्नेगरी सेती दोभानस्थित पक्की सडक छेउमै करिब ८ रोपनी क्षेत्रफलमा अस्पताल रहेको छ।