ट्युनिशिया नजिक भूमध्य सागरमा डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु,

प्रकाशित मिति:

एजेन्सी – लिवियाबाट इटली जाँदै गरेको एक डुंगा ट्युनिशिया नजिक भूमध्य सागरमा १२० भन्दा बढी प्रवासी बोकेको डुंगा डुब्दा ४३ जना प्रवासीहरुको मृत्यु भएको छ । ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको र ८४ जनालाई उद्धार गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

सो डुंगामा इजिप्ट, सुडान र बंगलादेशका नागरिक चढेका थिए । लिबियाको उत्तर पश्चिमी तट जुवाराबाट छुटेको सो डुंगा इन्जिनमा खराबीका कारण भूमध्य सागरमा डुबेको अधिकारीहरुले बताएका छन् । भूमध्य सागर युरोप र अफ्रिकाको बीचमा अवस्थित छ । अफ्रिका र मध्यपूर्वका धेरै नागरिकहरु गरिबी र युद्धका कारण त्यहाँबाट भागेर भूमध्य सागर पार गर्दै युरोपेली देश पुग्ने गरेका छन् । विगत केही वर्षयता यो बाटो प्रयोग गर्ने क्रम घटेको थियो । तर सन् २०२१ को सुरुवातदेखि फेरि यो बाटोमा चहल पहल बढेको छ ।

इटलीको गृह मन्त्रालयका अनुसार गत वर्षको जुलाई महिनासम्ममा ६ हजार सात सय जना भूमध्य सागर पार गर्दै इटली आएका थिए । तर सन् २०२१ मा यो संख्या १९ हजार ८ सय पुगिसकेको छ । सन् २०१६ को जुन महिनामा भूमध्य सागरमा एक डुंगा डुब्दा ११७ जनाको मृत्यु भएको थियो भने ३४० जनाको उद्धार गरिएको थियो ।