लुम्बिनी प्रदेश : राज्यमन्त्रीबाट राजीनामा दिएकी रायमाझीले प्रदेशसभामा पठाइन् समर्थन फिर्ताको पत्र

प्रकाशित मिति:

बुटवल । लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट शुक्रबार राजीनामा दिएकी जसपा नेपालकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको जानकारीसहित प्रदेशसभा सचिवालयलाई पत्र पठाएकी छन् ।

जनता समाजवादी पार्टीको मूलधारमा रही पार्टी संसदीय दलका नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने उल्लेख गर्दै उनले पत्रमा प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएको जनाएकी छन् ।प्रदेशसभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जसपा सांसद रायमाझीले प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र बुझाएको जनाए । उनले सोही पत्रका आधारमा सांसद रायमाझीलाई विपक्षी बेन्चमा बस्ने व्यवस्था मिलाइने पनि जानकारी दिए ।

लुम्बिनी प्रदेशसभामा जसपाका ६ जना सांसदमध्ये रायमाझीसहित चारजना वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्दै सरकारमा सहभागी भएका थिए ।रायमाझीले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । बहुमतका लागि कम्तीमा ४२ सांसदको समर्थन आवश्यक रहनेमा प्रदेश सरकारको पक्षमा ४१ सांसदमात्र छन् ।