भेरोसेल खोपको दोस्रो डोज भोलिबाट, उपत्यकामा मात्र करिब एक सय खोप केन्द्र

प्रकाशित मिति:

काठमाडौं, असार २१- कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइसकेकाहरूलाई सरकारले असार २२ (भोलि) बाट दोस्रो डोज दिने भएको छ। गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो। उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप दिने निर्णय भए बमोजिम अहिले दोस्रो खोप दिन लागिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्र रमण सिंहले जानकारी दिए।

यस्तै, दोस्रो डोजको लागि उपत्यकामा मात्र करिब एक सय स्थानमा खोप केन्द्र तोकिएको छ। जसमध्ये काठमाडौंको ३२ र भक्तपुरको ३८ वटा स्थानमा खोप केन्द्र तोकेको हो। ललितपुर जिल्लामा भने सो अन्तर्गतको ६ वटै पालिका र खोप समितिको बैठकबाट पालिका स्वयंलाई खोप वितरण मिति र केन्द्र तोक्ने जिम्मा दिएको स्वास्थ्य कार्यालय, ललितपुरमा वरिष्ठ स्वास्थ्य प्रशासक डा। खगेश्वर गेलालले जानकारी दिए।‘ललितपुर महानगरपालिकामा २० वटा, महालक्ष्मी नगरपलिकामा १०, गोदावरी नगरपालिकामा १०, कोन्ज्योसोन गाउँपालिका, बाग्मती गाउँपालिका र माहाकाल गाउँपालिकामा भने २र३ ठाउँलाई केन्द्र बनाएका छौँ,’ उनले काठमाडौं प्रेससँग भने ‘काठमाडौं र भक्तपुरमा असार २२ र २३ गते खोप दिएपनि ललितपुरमा भने २५ र २६ गते खोप दिइनेछ।’

यस्तै भक्तपुर जिल्लामा मात्र सुर्यबिनायक नगरपालिकामा १०, मध्यपुर थिमी नगरपालिकामा ९, भक्तपुर नगरपालिकामा १० र चाँगुनारायण नगरपालिकामा ९ गरि कुल ३८ केन्द्रबाट कोरोना बिरुद्ध भेरोसेल खोपको दोस्रो डोज दिइने छ। ६० देखि ६४ उमेर समुहलाई पहिलो डोजको खोप वितरण गर्दा तोकिएकै केन्द्रहरूलाई अहिले पनि खोप केन्द्र बनाएको भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। भक्तपुर जिल्लाभित्र रहेको कुनै पनि स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रबाट खोप लिन सकिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।काठमाडौं जिल्लामा मात्र कुल ३२ स्थानमा खोप केन्द्र बनाइएको छ। जसअन्तर्गत काठमाडौं महानगरपालिकामा १३, कीर्तिपुर नगरपालिकामा २, बुढानिलकण्ठ नगरपालिकामा २, गोकर्णश्वर नगरपालिकामा २, टोखा नगरपालिकामा २, नागार्जुन नगरपालिकामा २, चन्द्रागिरी नगरपालिकामा २, शंखरापुर नगरपालिकामा २, कागेश्वरी मनोहरा नगरपालिकामा २, तार्केश्वर नगरपालिकामा २ र दक्षिणकाली नगरपालिकामा १ स्थानमा खोप केन्द्र तोकिएको छ।

यो चरणमा कुल तीन लाख ७० हजारले भेरोसेलको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। यस अघिका खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने उनी बताउँछन्। खोप लगाउनका लागि पहिलो डोज लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ।यस्तै विभिन्न मुलुकबाट कोरोना विरुद्धको खोप ल्याउने तयारी भईरहेको र चाँडै नै अर्को लटको खोप नेपाल आउने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी दिए। ‘विभिन्न मुलुकमा हामीले खोप पठाउनका लागि आग्रह गर्दै आएका छौँ। सम्भवतः केही दिनमै कोरोना विरुद्धको खोपको अर्को लट नेपाल आइपुग्ने सम्भावना छ,’ उनले काठमाडौं प्रेससँग भने ‘तर कहिले, कति र कुन कम्पनीको आउन्छरु भन्ने निश्चित भइसकेको छैन।’