फुट्दै जसपा ! महन्थपक्षीय नेताले भने– अब सँगै बस्न सकिन्न, छुट्टिऊँ भन्नुभयो

प्रकाशित मिति:

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आफूहरुले पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयास गरेको जनाएको छ । तर, अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष त्यसविपरीत देखिएको ठाकुर पक्षको भनाइ छ ।

ठाकुरपक्षीय नेता केशव झाले आफूहरुले ‘अझै पनि विचार–विमर्श गरौँ, एकतालाई जोगाऔँ’ भनेको बताए । तर, यादव पक्षले नमानेको उनले दाबी गरे । आज निर्वाचन आयोगमा छलफलपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

“अझै पनि विचार–विमर्श गरौँ, अझै पनि एकतालाई जोगाउन सकिन्छ भने जोगाऔँ भनेर हामीले अन्तिमसम्म आग्रह गरेको हो,” उनले भने, “तर, उहाँहरुले अब सँगै बस्न सकिन्न, अहिले छुट्टिऊँ । पछि फेरि मिल्न सके भविष्यमा, कालान्तरमा फेरि एकता गरौँला, अहिले छुट्टिऊँ भन्ने नै उहाँहरुको कुरा आइसकेपछि हामीले हुन्छ भनेर स्वीकृति दिएका छौँ ।”