समस्या समाधानको दिशामा अघि बढ्ने एमाले एकता कार्यदलको सहमति

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेको एकता गर्न बनेको कार्यदलले समस्या समाधानको दिशामा अघि बढ्ने सहमति गरेको छ ।मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले छलफलमा उठेका विषय तत्काल टुङ्गो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमति भएको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक डा। भीम रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘छलफलमा उठेका विषयमा तुरुन्तै टुङ्गो नलागे पनि समस्या समाधानको दिशामा अघि बढ्ने सहमतिका साथ आजको बैठक सकिएको छ ।’सोमबार भएको बैठकले एकता कार्यदललाई पुनर्जीवित बनाएको र मंगलबारको बैठक विषयमा प्रवेश गरेर छलफल भएको संयोजक रावलको भनाइ छ । उहाँले बैठकमा अदालतको फैसलापश्चात जीवित भएको पार्टीको संगठनात्मक विषयसँग सम्बन्धित समस्याहरू समाधाननको विषयमा छलफल भएको बताउनुभयो ।

‘उठेका विषयमा कार्यदलमा भएका सम्पूर्ण सदस्यहरूले आ–आफ्ना विचार राख्नुभयो,’ उहाँले भन्नुभो, ‘अभिव्यक्त विचारहरूको समीक्षा गर्दै कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा भोलिको बैठकमा छलफल हुन्छ ।’पार्टी एकताका लागि भन्दै नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट १० सदस्यीय कार्यदल गठन गरिएको थियो । एक महिना निष्क्रिय रहेको कार्यदल आइतबार बेलुकी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग नेपालपक्षीय नेता भीम रावलको भेटपछि सक्रिय भएको छ ।